के ‘सङ्गठित अपराध’ विपक्षीलाई मात्रै लाग्ने हो ?

-नारायण गाउँले ।

के सरकारकै विभिन्न मन्त्री, मालपोतदेखि भूमि आयोग, कर्मचारीदेखि पार्टीकै बिचौलियासम्म सबै मिलेर सङ्गठित रूपमै जग्गा हत्याउने अपराध गरेको देखिँदा पनि त्यो कुनै अपराध नहुने हो ? माफियाको आँखा लागेको जग्गा त्यहीँ छ । घूस माग्दै गरेका अडियो जताततै छन् । बिचौलिया त्यहीँ छ । पत्रपत्रिकाभरि यो काण्डको सिङ्गो कथा र चित्र छापिएका छन् । मन्त्रीले मात्रै होइन, पार्टीकै स्थानीय कमिटीले अपराध भएको स्वीकार गर्दै सम्बन्धितलाई कारवाहीको माग गरेको छ । पार्टीका इमान्दार सदस्य लज्जित छन्, तिनलाई पार्टीहितको चिन्ता छ र बिचौलियाको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय नै भएको छ । तर टाउकोमा तिनै अपराधी भएपछि के लाग्छ र ?

यत्ति धेरै क्लू, दृश्य, साक्ष्य, सम्बन्ध र प्रमाण भएर पनि कारवाही नहुनु चरम दण्डहीनताको अभ्यास हो । मन्त्री बलराम सुशासन सिकाउँदै हिँडेका छन् । गुप्ताजी पार्टीको गतिविधिमा संलग्न छन् । यसभन्दा दिक्क लाग्दो कुरो के होला ? कोशीमा कांग्रेस मन्त्रीले त हाकाहाकी मातहतका कर्मचारीलाई पार्टी र कार्यकर्ता पाल्न पर्ने भन्दै घूसको हिस्सा जम्मा गर्न क्यूआर कोड नै पठाएको सुन्नुभयो होला । यस्तो केसमा समेत अलिकति लज्जाबोध गरेर पार्टीको कोही बोलेको सुनिएन । यस्तो खुल्लमखुल्ला भ्रष्टाचार त संसारकै भ्रष्ट देशमा समेत हुँदैन ।

कति लेख्नु ! देशमा भ्रष्टाचार त जहिले पनि हुन्थ्यो, तर मन्त्रीहरूकै यस्तो हाकाहाकी असूली र त्यसको निर्लज्ज संरक्षण पञ्चायतमा पनि हुँदैनथ्यो होला । हरेक सरकारी अड्डा हिजो पनि नागरिक चुसुवा र घुस्याहा थिए, आज पनि छन्, तर माथिदेखि नै यस्तो अराजकता र खुलेआम घूसखोरीको राजनैतिक प्रवद्र्धनले देशलाई कहाँ पुर्याउला ?

सबैभन्दा बढी दुःख लाग्नुपर्ने, त्यत्रो प्यारो पार्टी र घरलाई आफैं सफा राख्न पर्ने र सबैभन्दा ठूलो स्वरमा विरोध गर्न पर्ने कार्यकर्ताले चाहिँ हामी यत्ति बोल्दा एमाले या कांग्रेसविरुद्ध बोलेको भन्दै चित्त दुःखाउनु हुन्छ । भ्रष्टाचारको नाङ्गो नाच र दण्डहीनताबारे लेख्दा ‘बाहरू’को खेदो खनेको मात्रै देख्नुहुन्छ । भोलि उहाँहरू नै नेतृत्वमा पुग्ने हो । कस्तो पार्टी बनाउनुहोला ? कस्तो सुशासनको चित्र कोर्नुहोला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *