महोत्तरीका विमलेश यादवको हत्या आरोपमा युवती पक्राउ

जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ७ बनौटाकी २४ वर्षीया जुली झालाई पक्राउ गरेको हो ।

यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

यादवको शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै केटी साथी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

शनिबार राति ९ बजेर ५० मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसीटिभी फुटेजमा देखिन्छ । त्यसको करिब ५ घण्टापछि आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ । त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद छ ।

आइतबार बिहान ७ः४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिसिटिभी फुटेजका आधारमा आरोपीमाथि नै अनुसन्धान केन्द्रित छ ।

विमलेश विवाहित थिए र उनको दुई सन्तान पनि थिए । विमलेश र आरोपीबीच विगत ४ वर्षदेखि सम्बन्ध थियो । उनीहरुको सम्बन्धलाई लिएर दुबै परिवारबीच पटक पटक विवाद हुँदै आइरहेको थियो । विवादपछि दुबै परिवारबीच अबदेखि कुराकानी नगर्ने सहमति भएको थियो ।

पछि विमलेश वैदेशिक रोजगारीका लागि विदेश गएका तर उनीहरुबीच कुराकानी जारी रहेको पाइएको थियो । विमलेशले कमाएको केही रकम पनि आरोपीलाई पठाउने गरेको यादवका आफन्तले बताएका छन् ।

दुई वर्ष अघि कतार गएका विमलेश ६ महिना अघि मात्र फर्केका थिए । पछि आरोपी आफैंले छुट्टिने कुरा गरिन् । त्यसपछि उनीहरुबीच खटपट शुरु भएको थियो । त्यसपछि विमलेशले आफूले विदेशबाट पठाएको पैसा फर्काउन भनेपछि विवाद बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *