इरान–इजरायल द्वन्द्वपछि इरानको हवाई सुरक्षा प्रणालीमा परिवर्तन

तेहरान । इरानले गत महिनाको इजरायलसँगको १२ दिन लामो द्वन्द्वका क्रममा क्षति पुगेका आफ्ना हवाई सुरक्षा प्रणालीहरू फेरिएको जानकारी दिएको छ । यो जानकारी आइतबार इरानी सेनाका एक वरिष्ठ अधिकारीले सरकारी सञ्चारमाध्यममार्फत दिएका हुन् ।

युद्धको पृष्ठभूमि

जुन महिनाको मध्यतिर इजरायलले इरानविरुद्ध एक्कासि व्यापक हवाई आक्रमण सुरु गरेको थियो । त्यसको प्रतिकारस्वरूप इरानले पनि ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी प्रतिक्रिया जनाएको थियो । त्यस अवधिमा इरानको राजधानी तेहरानसहित देशभर हवाई सुरक्षा प्रणालीहरू सक्रिय बनाइएका थिए । तर तीमध्ये केही प्रणालीहरू युद्धका क्रममा क्षतिग्रस्त भएका थिए ।
इरानी सेनाका कार्य सञ्चालन प्रमुख महमूद मुसावीले भने,“शत्रुले हाम्रो रक्षा क्षमतामा क्षति पु¥याउने प्रयास गरेको थियो युद्धमा केही सुरक्षा प्रणालीहरू बिग्रिएका थिए, जुन अहिले प्रतिस्थापन गरिएका छन् ।”

इरानको हवाई सुरक्षा प्रणालीमा स्वदेशमै निर्माण गरिएका बावर–३७३ र खोर्दाद–१५ लगायतका प्रणालीहरू छन्, जसले हवाई आक्रमण तथा क्षेप्यास्त्रहरूको प्रतिकार गर्न सक्ने क्षमता राख्छन् । सन् २०१६ मा इरानले रुसको एस–३०० प्रणाली पनि प्रयोगमा ल्याएको थियो ।

दुवै पक्षमा जनधनको क्षति

यो युद्धमा इरानमा एक हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । त्यस्तै, इरानी आक्रमणबाट इजरायलमा कम्तीमा २८ जनाको मृत्यु भएको इजरायली अधिकारीहरूले जनाएका छन् । इजरायली आक्रमणमा इरानका सैनिक संरचना र आणविक कार्यक्रमसँग सम्बन्धित स्थानहरू निशाना बनाइएको थियो ।

अमेरिकाको सहभागिता

जुन २२ तारिखमा इजरायलको समर्थनमा अमेरिका पनि संलग्न हुँदै, इरानका आणविक स्थल फोर्दो, इस्फहान र नातान्जमा आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती केन्द्रहरू पूर्ण रूपमा नष्ट गरिएको दाबी गरे पनि केही अमेरिकी सञ्चारमाध्यमहरूले त्यसबारे प्रश्न उठाएका छन् । एनबीसी समाचारको एक प्रतिवेदन अनुसार, तीमध्ये एक स्थानमा मात्र गम्भीर क्षति पुगेको उल्लेख गरिएको छ ।

वर्तमान अवस्था र भविष्यको आशंका

इरान र इजरायलबीच जुन २४ देखि युद्धविराम लागू भएको छ । तर, युद्धविरामपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले आफ्नो आणविक क्षमता पुनः निर्माण गर्न नपाओस् भन्ने दृढ संकल्प व्यक्त गरेका छन् । इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि यसअघि भने,“हामीले इरानको पक्षबाट भविष्यमा कुनै खतरा नहोस् भन्नका लागि स्थायी योजना तयार पार्दैछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *