रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी

काठमाडौँ, ५ साउन । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा रु पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु तीन करोड ४१ लाख ५० हजार बराबरको सात वटा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीमा रु एक करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा रु ७७ लाख बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा रु ७५ लाख ५० हजार बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी युनाइटेड अजोडमा रु ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा रु ४७ लाख बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा रु ३१ लाख बराबरको सात वटा बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बिमा दाबी परेको छ ।

रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *