सिरियाका सशस्त्र बेदुइनहरू एक हप्ता लामो लडाइँपछि ड्रुज बहुल सहरबाट फिर्ता

सिरिया। सिरियाका सशस्त्र बेदुइन समुदायले आइतबार अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार एक हप्ताभन्दा बढीको झडपपछि दक्षिणी सहर स्वेइदाबाट फिर्ता भएको घोषणा गरेका छन् ।

ड्रुज धार्मिक अल्पसङ्ख्यक र सुन्नी मुस्लिम समुदायका मिलिसियाहरूबीचको झडपमा सयौँको मृत्यु भएको थियो र सिरियाको पहिले नै कमजोर युद्धपछिको सङ्क्रमणकाललाई बिगार्ने खतरा उत्पन्न भएको थियो ।

सिरियाको ड्रुज अल्पसङ्ख्यक समुदायको बाहुल्य रहेको स्वेइदा प्रान्तमा गत सातादेखि जारी हिंसामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ९४० पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेमा ३२६ ड्रुज लडाकु र २६२ ड्रुज नागरिक रहेका छन्, जसमध्ये १८२ जनालाई रक्षा र गृह मन्त्रालयका कर्मचारीले मृत्युदण्ड दिएका छन् ।

यसमा तीन सय १२ जना सरकारी सुरक्षाकर्मी र २१ जना सुन्नी बेदुइनको पनि मृत्यु भएको थियो जसमध्ये तीन जना सर्वसाधारण थिए र उनीहरूलाई ड्रुज लडाकूहरूले मृत्युदण्ड दिएका थिए । इजरायली आक्रमणमा परी अन्य १५ जना सरकारी सैनिकको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

इजरायलले पनि बेदुइनहरूको पक्षमा उभिएका सरकारी सेनाहरूलाई निशाना बनाएर ड्रुज बहुल स्वेदा प्रान्तमा दर्जनौँ हवाई हमला गरेको थियो ।

प्रान्तका विभिन्न सहर र गाउँमा पारस्परिक अपहरणको शृङ्खलाले झडप निम्त्यायो र यो पछि सहरमा फैलिएको थियो । बिहीबार पुनः भड्किएको लडाइँ रोक्न सरकारी सेनाहरू पुनः तैनाथ गरिएका थिए, त्यसपछि फेरि फिर्ता भए ।

बेदुइनहरूप्रति बढी सहानुभूति राख्ने अन्तरिम राष्ट्रपति अहमद अल–साराले मिलिसियाहरूको आलोचना गर्दै ड्रुज समुदायलाई मनाउने प्रयास गरेका थिए । पछि उनले ‘देशको मामिला सम्हाल्न र सुरक्षा पुनःस्थापनामा राज्यको भूमिकालाई प्रतिस्थापन गर्न सक्दैनन’ भन्दै बेदुइनहरूलाई सहर छोड्न आग्रह गरे ।

“हामी बेदुइनहरूलाई उनीहरूको वीरतापूर्ण अडानका लागि धन्यवाद दिन्छौँ तर उनीहरूले युद्धविरामका लागि पूर्ण प्रतिबद्ध हुन र राज्यको आदेशको पालना गर्न माग गर्दछौँ”, उनले शनिबार प्रसारण गरिएको सम्बोधनमा भने ।

बेदुइनहरूको फिर्तीले क्षेत्रमा सावधानीपूर्वक शान्तिको वातावरण छ र मानवीय सहायताका गाडीहरू पुगिरहेको समाचार छ । सिरियाली रेड क्रिसेन्टले आइतबार लडाइँले प्रान्तमा विद्युत् कटौती र अभावको अवस्था सिर्जना गरेपछि उनीहरूले खाना, औषधि, पानी, इन्धन र अन्य सहायता बोकेर ३२ वटा ट्रक स्वेदामा पठाइरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले पनि ट्रकहरू पठाइरहेको सिरियाको सरकारी सञ्चार माध्यम सानाले जनाएको छ ।

सिरियाका लागि वासिङ्टनका विशेष दूत टम बाराकले झडप र अत्याचारले देशको युद्धपछिको सङ्क्रमण र अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्ध हटाउने बारेमा प्रारम्भिक सतर्क आशावादलाई ‘ओझेलमा पारेको’ बताए ।

“सबै गुटहरूले तुरुन्तै हतियार त्यागेर शत्रुता बन्द गर्नुपर्छ र जातीय बदलाको चक्र त्याग्नुपर्छ”, उनले एक्समा भने, “सिरिया महत्त्वपूर्ण मोडमा खडा छ — शान्ति र संवादले विजयी हुनुपर्छ — र अहिले नै विजयी हुनुपर्छ ।”

बेदुइन लडाकुहरू र सरकारी सेनाहरूको हातबाट सहरमा लक्षित आक्रमणको शृङ्खलामा दर्जनौँ ड्रुज नागरिक मारिएका थिए ।

लडाकुहरूले घरहरूमा ड्रुज धार्मिक अधिकारीहरू र प्रतिष्ठित व्यक्तित्वहरूका तस्बिरहरू नष्ट गर्ने र वृद्ध ड्रुजहरूका जुँगाहरू खौरिने अनलाइन भिडियोहरू पनि सार्वजनिक भएका छन् । यसलाई संस्कृति र परम्पराको अपमान मानिन्छ ।

बदलामा ड्रुज मिलिसियाहरूले प्रान्तको बाहिरी भागका बेदुइन बहुल क्षेत्रहरूमा आक्रमण गरे र परिवारहरूलाई छिमेकी दाराआ प्रान्तमा भाग्न बाध्य पारे ।

विश्वभरका लगभग १० लाख ड्रुजमध्ये आधाभन्दा बढी सिरियामा बस्छन् । अन्य ड्रुजहरू मुख्यतः लेबनान र इजरायलको गोलान हाइटमा बस्छन् । गोलान हाइटलाई इजरायलले सन् १९६७ को मध्यपूर्वी युद्धमा सिरियाबाट कब्जा गरेको थियो र सन् १९८१ मा गाभेको थियो ।

सिरियाका ड्रुजहरूले दशकौँको अत्याचारी शासनको अन्त्य गर्ने असद परिवारको पतनलाई धेरै हदसम्म मनाएका थिए । अल–साराको वास्तविक इस्लामवादी शासनका बारेमा उनीहरूको चिन्ता भए पनि ठूलो सङ्ख्याले मामिलाहरूलाई कूटनीतिक रूपमा सम्बोधन गर्न चाहन्थे ।

यद्यपि, हालैका झडपहरूले क्षेत्रमा बढ्दो सङ्ख्यामा ड्रुजहरूलाई दमास्कसको नयाँ नेतृत्वप्रति बढी शङ्कास्पद र शान्तिपूर्ण सहअस्तित्वमा बढी संदिग्ध बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *