काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिकाबारेमा छलफल भएको बताएकी छन् ।
आइतबार एमाले मुख्यालय च्यासलमा प्रधानमन्त्री ओलीसँगको भेटपछि पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भएको जानकारी दिइन् ।
उनले भनिन्, ‘राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भयो ।’
उनले सदस्यता नवीकरणको विषयमा कुराकानी नभएको बताइन् । उनले भनिन्, ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो । तर आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन ।’
उनीहरुबीच आइतबार अपरान्ह डेढघण्टा कुराकानी भएको थियो । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा लिएर नेताहरु पक्ष विपक्षमा बहस भइरहेका छन् ।
पोलिटब्युरो बैठकले यस विषयमा पूर्वराष्ट्रपति भण्डारीसँग वार्ता गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको थियो । सोही सुझावअनुसार प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच आज भेटवार्ता भएको हो ।