नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब २८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ९२ हजार २९६ रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराइएको जानकारी दिएको छ ।
नगरपालिकाले दुग्ध उत्पादक किसानलाई ५ वटा सहकारीमा सङ्कलन भएको १३ लाख ९६ हजार १४८ लिटर दूधमा प्रतिलिटर २ रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो ।
नगरपालिकाका अनसार साना किसान कृषि सहकारी संस्था कावासोती–१४ मार्फत ६ लाख ३५ हजार २७५ लिटर, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८ मार्फत ३ लाख १९ हजार ६४ लिटर, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७ मार्फत ३ लाख १६ हजार ९९२ लिटर, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ मार्फत ५७ हजार ५८३ लिटर र नमुना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत ६७ हजार २३३ लिटर दूध संकलन भएको र सोही आधारमा अनुदान उपलब्ध गराइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिए ।
नगर प्रमुख विष्णुप्रसाद भुसालले अनुदानले किसानलाई प्रोत्साहन गर्ने विश्वास लिइएको बताए । “किसानलाई केही राहत होस् भन्ने उद्देश्यले अनुदान उपलब्ध गराइएको हो”, उनले भने ।