काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् पूर्व–व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा भइरहेकाले प्रतिकार्यमा उच्च तयारी गर्न प्रचण्डले सरकारलाई आग्रह गरेका हुन् । उनले पार्टी पंक्तिलाई पनि विपद् व्यवस्थापनमा सहयोग पुर्याउन, जनतालाई समयमै सूचना दिन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन अपील गरेका छन् ।
उनले भनेका छन्, ‘देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ । नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भू–भाग र पहिरोको उच्च जोखिम भएका स्थानमा रहनुभएका सम्पूर्ण जनसमुदाय सतर्क रहनुहोला। स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्नुहोला र आवश्यक सतर्कता अपनाउनु होला। साथै, विपद् पूर्व–व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न सरकारसँग अनुरोध गर्दछु।’