पोखरामा साउन ११ र १२ गते धर्मचक्र प्रवर्तन महोत्सव तथा रत्नवज्र रिन्पोछेबाट विशेष अभिषेक हुने

काठमाडौं । पोखरामा साउन ११ र १२ गते धर्मचक्र प्रवर्तन महोत्सव तथा परमपूज्य रत्नवज्र रिन्पोछेबाट विशेष अभिषेक हुने भएको छ ।

विश्व शान्तिको कामना गर्दै, नेपाल बौद्ध महासंघको आयोजनामा पोखरामा दुई दिने महोत्सव हुन लागेको हो । महोत्सव श्रद्धालु भक्तजनहरूका लागि पुण्य कमाउने, शक्तिशाली आशीर्वाद प्राप्त गर्ने र भगवान बुद्धका शिक्षाहरूको सारसँग जोडिने एक दुर्लभ अवसर हुनेछ ।

यो कार्यक्रम धर्मचक्र प्रवर्तन महोत्सव र महासंघको १४औं पूजा प्रणिधान (मोन्लम) को शुभ अवसरमा आयोजना गरिँदैछ । धर्मचक्र प्रवर्तन महोत्सव त्यो ऐतिहासिक दिनको स्मरणमा मनाइन्छ, जुन दिन भगवान बुद्धले ज्ञान प्राप्त गरेपछि सारनाथमा आफ्ना पाँचजना प्रारम्भिक शिष्यहरूलाई पहिलो पटक उपदेश दिएका थिए ।

यसलाई ‘धर्मको पाङ्ग्रो घुमाउनु’ पनि भनिन्छ, किनकी यही दिनबाट उनले दुःख र त्यसको निवारणका लागि चार आर्य सत्यको मार्ग देखाए । यो बौद्ध धर्मको सुरुवातको प्रतीक हो र यस दिन गरिने पूजापाठले ठूलो पुण्य प्रदान गर्ने विश्वास गरिन्छ ।

रत्नवज्र रिन्पोछे तिब्बती बौद्ध धर्मको प्रतिष्ठित शाक्य सम्प्रदायका ४२औं प्रमुख अर्थात् शाक्य त्रिजीन हुन् । उनी वर्तमान समयका सबैभन्दा आदरणीय र उच्च आध्यात्मिक गुरुहरू मध्ये एक मानिन्छन् ।

कार्यक्रममा भगवान बुद्धको पवित्र अस्तु धातु (रिङ्सेल) को सार्वजनिक दर्शनका राखिने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन, साउन १२ गते रिन्पोछेबाट शरणगमन, शील ग्रहण, दीर्घायु अभिषेक गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *