काठमाडौं । फरवार्ड मिना देउवा र पुर्णिमा राईको ह्याट्रिकको मद्दतमा नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ । शनिबार दिउँसो सम्पन्न खेलमा भुटानलाई ८-० गोलले हराउँदै नेपालले प्रतियोगितामा चौथो जित निकालेको हो ।
बसुन्धरा स्पोर्ट्स मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन मिना देउवा र पुर्णिमा राईले ह्याट्रिक पूरा गर्दा समिक्षा मगर र कुसुम खतिवडाले समान एक/एक गोल थपे । नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको पहिलो मिनेटमै मिनाले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । नवौँ मिनेटमा समिक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
१२ औँ मिनेटमा मिनाले गोल गर्दै नेपाललाई ३-० गोलको अग्रता दिलाइन् । २३ औँ मिनेटमा पुर्णिमाले गोल थप्दै नेपाललाई फराकिलो जिततर्फ अगाडि बढाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पुर्णिमाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई खेलमा ५-० गोलले अगाडि बढाइन् । यस्तै इन्जुरी समयकै छैटौं मिनेटमा पुर्णिमाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर नेपाललाई पहिलो हाफमा ६-० गोलको अग्रता दिलाएकी थिइन् ।
६३ औँ मिनेटमा कुसुमले गोल थप्दै नेपालको अग्रता ७-० गोलमा पुर्याइन् । एक मिनेटपछि मिनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेर नेपाललाई ८-० गोलको अग्रता दिलाइन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नेपाल ८-० गोलले विजयी भएको हो ।
जितसँगै नेपाल पाँच खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित भुटान भने पाँच खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । आजै हुने अर्को खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन् ।