यसरी त लि क्वान यु नै भेटिएपनि बन्दैन देश

-डा. युवराज संग्रौला ।

विकास ‘विस्तार र वृद्धि’ मात्रै होइन । चेतना र चिन्तनको उद्भव र उन्नयनले मात्र विस्तार र वृद्धिलाई मानवीय र प्राकृति दुवै दृष्टिकोणबाट सम्यक बनाउन सकिन्छ । चेतना र चिन्तनले मानिसको परस्पर निर्भरता निर्माण गर्दै, सामाजिक ऐक्यबद्धतालाई खँदिलो पार्छ । शिक्षालाई जीवन उपयोगी बनाउँछ, र संस्कृति र भौतिक समृद्धि एवम् पर्यावरण र भौतिक समृद्धिलाई सन्तुलित बनाउँछ ।

आजको हाम्रो समस्या के हो ?

१. भौतिक निर्माण, ठूला बाटा, ठूलो शहर, ठूला घरलाई हामीले विकास ठान्यौं । हाम्रो आवश्यकता र हाम्रो भूवनौटलाई हामीले ख्यालै गरेनौं । त्यसैले हामीसँग अहिले अग्ला घर थुप्रै छन् । चौंडा बाटा थुप्रै छन् । भौतिक समृद्धिमा बिगत ७० वर्षमा ठूलो फड्को देख्न सकिन्छ । हात हातमा मोबाइल फोन छन्, तर तिनका ऐनामा अस्लिलता, क्रोध, घृणा र अपराध नाचिरहेका छन्, र नेपाली जीवन क्षतविक्षत हुँदैछ । सडकमा लाखौं गाडी छन्, र अर्बौं हाम्रो धन विदेशिएको छ। हाम्रा स्कुलमा लाखौं नानीहरु पढ्दैछन्, तर हाम्रा स्कुलहरु वर्ग विभाजनका कारखाना बनिरहेका छन् । हाम्रा मानिसले विदेश देखेका छन्, तर परिवार विखण्डन भैरहेका छन् ।

२. यिनै कारणले हाम्रो रैथाने संस्कृतिको विनास भैरहेको छ । प्रकृति र मानव जीवन दुवैको पर्यावरण (इकोलोजी) भत्किएको छ। निराशा यसैसँग जोडिएको छ, छ र एउटा रोग बनेको छ । यो निरासाले ‘कल्पित सपना (युटोपिया), भ्रामक सत्य (फ्यान्टासे), क्रोधमा हुर्किएको घृणा, महानताको आत्मरती (नार्सिसिजम) र अरुको जीवनको सामाजिक हत्याका अपराधहरु नेपाली समाजमा आम घटना बनिरहेका छन् । यसको शिकार राजनीतिमा समाजवाद, परिवारमा बाबुआमा, बजारमा श्रमजीवी, र पर्यावरणमा जमिन बनेका छन् ।

३. अर्थात्, विकास भौतिक समृद्धिको विस्तारमा मात्र सीमित रहँदा, मानिसको उत्पादन, श्रम र सिर्जनाप्रतिको चेतना र चिन्तन झन्झन् ह्रास हुँदै गएको छ । उत्पादन र श्रम प्रतिको उदासिनताले, हाम्रो शिक्षाको प्राण निर्माण हुन सकेन । शिक्षा उत्पादनमुखी र उत्पादकत्व प्रधान नहुँदा उन्नत जीवनका आकांक्षा, पारिवारिक एकता, सामाजिक ऐक्यबद्धता र देशभक्ति ओइलिए ।
४. परिणामस्वरुप, व्यक्तिवाद, उपभोक्तावाद, पलायनवाद र अराजकता घनघोर रुपमा मौलाएका छन् ।

अतः आज देशले चाहेको राजनीतिक प्रणाली राष्ट्रको विकासलाई विस्तारबाट निकालेर उत्पादन र सिर्जनामा बदल्ने हो । उपभोक्तावादलाई उत्पादन स्वनिर्भरतामा बदल्ने र भौतिक निर्माणलाई सुगम बनाउने हो । यसका लागि शिक्षाको उत्पादन र सिर्जनामुखी नयाँ ढाँचामा नबदली, लि क्वान यु भेटिएपनि नेपालको दशा बन्ने भन्दा बिग्रने नै हो । त्यसैले भ्रमबाट निस्किएर यथार्थ बुझ्न र गम्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *