कञ्चनपुर कारागारमा क्षमता भन्दा  धेरै कैदी

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।

जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० जना बन्दी राख्ने क्षमता भएपनि कारागारमा क्षमताभन्दा तेब्बर बढि ४५६ जना कैदी बन्दी राखिएको छ । अहिले कारागारमा २७ जना महिला, २६ जना भारतीय नागरिक बन्दी रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए । उनका अनुसार अहिले कारागारमा सबैभन्दा बढी लागुऔषधका १६७ जना कैदीबन्दी छन । “कारागारमा महिला बन्दीको क्षमता २० जना र पुरुष बन्दीको क्षमता १४० जना हो ।” उनले भने, “क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको छ ।” उनले गत पुषमा कारागारमा कैदीबन्दीको सङ्ख्या ५८० सम्म पुगेको बताए । “अहिले अदालतले पछि मुद्दाको फैसला छिटो गर्दा बन्दीको सङ्ख्या घट्दै गएको छ ।” जोशीले भने, “पहिला जस्तो खुला आकाशमुनि बस्नुपर्ने अवस्था छैन हामीले पाल र टीनको व्यवस्था गरेर भएरपनि कैदीबन्दी राखेका छौँ ।”

कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागुऔषधका सेवनका कारण अन्य अपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय अपराधिक कटना बढेको बताए । “अहिले लागुऔषधका कारण पनि अपराधिक घटना बढेका छन् ।” उनले भने, “लागुऔषध सेवनकर्ताले चोरी गर्ने, ठगि गर्ने, जबरजस्तीकरणी र हत्यासम्मका घटना हुन्छन् ।” उनले लागुऔषधका कारण पनि अपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको बताए । “साथीभाइको लयलयमा लागेर, मनोरञ्जनका लागि लागुऔषध सेवन गरेको पाइन्छ ।” उनले भने, “एक पटक लागुऔषध सेवन गरेपछि खाउँखाउँ लाग्ने र खुल्ला सिमानाका कारण सहज पहुँचले पनि सेवनकर्ता बढेका छन् ।” जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागुऔषधका बैन्दी छन् । त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *