नेपाल–चीन सांस्कृतिक सम्मेलनमा नेपाली र चिनियाँ कलाकारको नृत्य

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन सम्पन्न भएको छ । ‘फिनिक्स इन्स्पिरेसन’द्वारा शुक्रबार आयोजित सम्मेलनमा विभिन्न साङ्गीतिक प्रस्तुतिले दुई देशको मित्रता र राष्ट्रिय भाव जागृत गराइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा नेपाल–चीनको मित्रता, भाइचारा र राष्ट्रबीचको सम्बन्ध प्रगाढ रहेको बताइएको थियो । यहाँ प्रस्तुत साङ्गीतिक प्रस्तुति आपसी सम्बन्ध, भाइचारा र सांस्कृतिक आदानप्रदानका लागि महत्त्वपूर्ण रहेको थियो ।

नेपाल र चीनका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको सुरुआतमा नेपाली विद्यार्थीहरूले नेपाल र चीनको राष्ट्रिय गान पालैपालो गाएर कार्यक्रम सुरु भरेका थिए । यस्ता प्रस्तुतिले दुई देशको मित्रता, राष्ट्रिय भाव र संस्कृति आदानप्रदान गरेको आयोजकले जनाएको छ ।

नेपालका लागि चीनका राजदूत छन् सोङले नेपालका विद्यार्थीले चिनियाँ गीतका संस्कार, पहिरन र हाउभाउसहित नृत्य प्रस्तुत गरेका बताउँदै प्रस्तुति अवलोकन गरेपछि प्रधानमन्त्री ओलीले ताली बजाएर हौसला प्रदान गरेको उल्लेख गरे । नेपाली विद्यार्थीहरूको प्रदर्शनमा राजदूत सोङ पनि रमाएका थिए ।

सम्मेलनमा चीनका ७० जना विद्यार्थीले आफ्नो देशको कला, संस्कृति र भाषाको प्रवद्र्धन गर्न नेपाल आएका हुन् । यसअघि गत वर्ष नेपालका ७० भन्दा बढी विद्यार्थी र शिक्षक नेपालको कला, संस्कृति र कलाको प्रवद्र्धन गर्न चीन गएका थिए ।

आजको सम्मेलनमा चीनबाट नेपाल भ्रमणमा आएका विद्यार्थीले प्रधानमन्त्री ओलीसमक्ष चीनको मौलिक नृत्य प्रस्तुत गरेका छन् । मौलिक पहिरनसहित नृत्यमा उत्रिएका छात्राहरूको नृत्य हेरेर सहभागीहरू उत्साहित र हर्षित बनेका थिए ।

नेपाल र चीनको आपसी सम्बन्ध, मानवीयता झल्काउने सामूहिक गायनसहितको नृत्यमा दुवै देशका विद्यार्थीले आ–आफ्ना भावना आपसी मित्रताको प्रतिकका रूपमा प्रकट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्धमा सांस्कृतिक पक्ष, कलाका पक्षसँगै एकअर्काका उपलब्धिहरू, परम्पराहरू, संस्कृतिहरू बुझ्ने र तिनलाई एकअर्कामा आदानप्रदान गर्ने अवसर सम्मेलनले दिने बताए । उनले यस्ता कार्यक्रममा नयाँ पुस्तालाई सहभागी गराउँदै आपसी सम्बन्धलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउनुपर्ने सुझाव दिए ।

नेपालका लागि चीनका राजदूत सोङले विगत दुई वर्षयता नेपालीहरूले चिनियाँ भाषा र संस्कृतिप्रति लगाव बढाएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । सम्मेलनमा हालसम्मकै ऐतिहासिक सहभागिता रहेको भन्दै यसले भविष्यका लागि थप मार्गप्रशस्त गर्ने उनले बताए । उनले दुई देशका विद्यार्थीद्वारा गरिएको सांस्कृतिक प्रस्तुतिले आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

फिनिक्स नेपालका अध्यक्ष विनोद ब्लोनले नयाँ पुस्तामाझ जोडेर जनसम्बन्ध प्रगाढ बनाउने अभियान आफूले थालेको जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले युवा सशक्तीकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मानित गरेका थिए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *