गण्डकी । युवाहरूको विदेश मोह बढेसँगै देशव्यापी रूपमा कृषिप्रतिको अनाकर्षण बढिरहेको अवस्थामा पोखरा महानगरपालिका-११ का ध्रुवबहादुर थापाले भने व्यावसायिक च्याउखेतीमा लगानी बढाउँदै गएका छन् ।
काहुँ सिस्नेरी एग्रो फार्म सञ्चालन गर्दै आएका उनले च्याउखेतीका लागि करिब रु एक करोड ५० लाख बढी लगानी गरिसकेका छन् । विगतमा खाद्यान्न आपूर्तिको काममार्फत व्यावसायिकतामा लागेका उनले कोरोना महामारीपछि व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका हुन् ।
कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको योजनालाई व्यवहारमा उतार्नुअघि विसं २०७४ देखि अध्ययन तथा प्रक्रियागत काम सुरु गरेका थिए । अहिले उनले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा च्याउखेती गरिरहेका छन् ।
विसं २०७७ फागुनमा चिस्यानसहितको प्रविधियुक्त टनेलको काम सकेपछि च्याउखेती थालेका उनले सुरुमा रु ५० लाख लगानी गरेको जानकारी दिए । उनका अनुसार सुरुमा १२ टन क्षमताको उक्त टनेलबाट प्रत्येक तीन महिनाको एक याममा दुई हजार ४०० किलोसम्म गोब्रे च्याउ उत्पादन भएको थियो ।
बजारको बढ्दो मागसँगै च्याउखेतीप्रतिको लगाव बढेपछि अहिले १२ टन क्षमताको टनेललाई विस्तार गरी २० टन बनाएको जनाउँदै थापाले थप २० टन क्षमताको टनेल निर्माण गरिरहेको बताए । बाह्र टन क्षमताको टनेलको क्षमता वृद्धिसँगै अर्को टनेल निर्माण गर्दा करिब रु ७० लाख लगानी भएको उनले जानकारी दिए ।
पछिल्ला समयमा गरिएको थप टनेल निर्माण तथा क्षमता विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु २७ लाख ९१ हजार ८८८ अनुदानबापतको रकम प्राप्त भएको थापाले उल्लेख गरे । उनका अनुसार दैनिक करिब पाँच सय किलो गोब्रे च्याउ टिप्दै आइएको छ ।
“कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउका लागि हाइटेक प्रविधि जडित टनेलभित्र गर्नुपर्ने हुन्छ । आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा हुने गरेको छ”, थापाले भने । बीस टन क्षमताका दुईवटा टनेलबाट पूर्णरूपमा उत्पादन हुँदा प्रत्येक तीन महिनाको समयावधिमा छ हजार किलो च्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
“बजारमा प्रतिकिलो रु तीन सयदेखि रु तीन सय ५० सम्ममा च्याउ बिक्री हुन्छ”, उनले भने, “पोखराको बजारमा दैनिक छ सय किलोसम्म यो च्याउको माग छ ।” थापाको च्याउखेती फार्ममा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । च्याउको कम्पोष्ट राख्ने, टिप्ने, त्यसको व्यवस्थापन गर्नेलगायत कामका लागि आवश्यकताअनुसार अन्य जनशक्ति खटाइएको गरिएको उनले बताए ।
बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुने भएकाले पछिल्लो समय यसको माग र प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको थापाको भनाइ छ । “च्याउमा ‘एर्गो थियोनिन’ भन्ने तत्व हुन्छ, जसले चाउरीपना हटाउनुका साथै छालाको सुरक्षा गर्दछ । यसमा ‘एन्टी अक्सिडेन्ट’ प्रशस्त मात्रामा पाइन्छ”, उनले भने ।
रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने कम मात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमित रूपमा च्याउ खानाले उच्च रक्तचाप, मधुमेहलगायत रोग नियन्त्रण गर्न मद्दत पुग्ने तथा क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ ।
च्याउ खेतीमा आकर्षण बढाउँदै परियोजना
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, कास्कीले पोखरा र आसपासमा व्यावसायिक च्याउ खेतीप्रतिको आकर्षण बढाउन अनुदान, सहयोगलगायतका कार्यक्रम अघि बढाएको छ ।
परियोजनाअन्तर्गत पोखरा र आसपासका क्षेत्रमा च्याउखेतीको विकासका लागि गत आवमा करिब रु ४० लाख लगानी गरिएको परियोजना कार्यान्वयन इकाईका प्रमुख माधव लम्सालले जानकारी दिए । पोखरा कन्ये च्याउमा आत्मनिर्भर बनिसकेको बताउँदै उहाँले गोब्रे च्याउमा आत्मनिर्भर बनाउनका लागि पहल भइरहेको उल्लेख गरे । आगामी एक-दुई वर्षभित्रमा यस क्षेत्रलाई गोब्रे च्याउमा पनि आत्मनिर्भर बनाउने गरी काम भइरहेको उनको भनाइ छ ।