पदच्यूत नेता हसिनाका समर्थकहरूसँग बङ्गलादेशी सेनाको झडप, कम्तीमा ४ जनाको मृत्यु

ढाका । बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् ।

गत वर्ष अगस्टमा हसिना विरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिणपश्चिमी गोपालगञ्ज जिल्ला र उनको अवामी लिग पार्टीको गढतर्फ पदयात्रा गर्ने घोषणा गरेपछि बिहान हिंसा भड्किएको थियो ।

अधिकारीहरूले पछि जिल्लामा रातिको कर्फ्यू लगाएका थिए ।

एघार महिनाअघि हसिनाको निष्कासनपछि बङ्गलादेश अराजकता र अनियन्त्रित भिडको हिंसाले ग्रस्त भएको छ । मुलुकको अन्तरिम सरकार बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा ल्याउन असफल भएसँगै बुधबारको आक्रमणले देशको गहिरो विभाजनलाई उजागर गर्दछ ।

– अराजक अवस्था –

टेलिभिजन फुटेजले हसिना समर्थक कार्यकर्ताहरूले लाठीले प्रहरीमाथि आक्रमण गरेको र विद्रोहको सम्झनामा नेसनल सिटिजन पार्टीका नेताहरू बोकेका करिब २० वटा गाडीमा आगो लगाएको देखाएको छ ।

पार्टीका नेताहरूले स्थानीय प्रहरी प्रमुखको कार्यालयमा शरण लिएका छन् । फुटेजमा शीर्ष नेताहरूलाई सैनिकहरूले सुरक्षाका लागि बख्तरबन्द गाडीमा लगेको देखाइएको थियो । तिनीहरू पछि सुरक्षा एस्कर्टहरूसँग छिमेकी जिल्लाका लागि प्रस्थान गरेका थिए ।

सरकारी अस्पतालका वरिष्ठ अधिकारी जिबितेश विश्वासले कम्तीमा तीन जनाको शव भित्र ल्याइएको पत्रकारलाई बताए । देशको प्रमुख अङ्ग्रेजी भाषाको डेली स्टारले चार जनाको मृत्यु भएको जनाएको छ ।

अन्तरिम सरकारले बुधबार विद्यार्थीहरूमाथि आक्रमण गर्नेहरू ‘दण्डविहीन’ नरहने बताएको छ र अन्तरिम नेता मुहम्मद युनुसको तर्फबाट जारी गरिएको विज्ञप्तिमा गोपालगञ्जमा भएको हिंसालाई ‘पूर्ण रूपमा अक्षम्य’ भनी वर्णन गरिएको छ ।

गत मे महिनामा अधिकारीहरूले प्रतिबन्ध लगाएको हसिनाको आवामी लिग पार्टीले सामाजिक सञ्जाल एक्समा धेरै वक्तव्यहरू जारी गरेर हिंसाको निन्दा गरेको छ र मृत्यु तथा घाइतेहरूका लागि अन्तरिम सरकारलाई दोष दिएको छ ।

एक आवामी वक्तव्यले भनेको छ, “हामी विश्वलाई सुरक्षा संयन्त्रको यो स्पष्ट दुरुपयोगलाई ध्यानमा राख्न आग्रह गर्छौं ।” विज्ञप्तिमा ‘असहमतहरू’ विरुद्ध भीड हिंसाको प्रयोग गरेको बताइएको छ ।

विद्यार्थी नेता नाहिद इस्लामले गोपालगञ्ज हिंसाका जिम्मेवारहरूलाई पक्राउ गर्न अधिकारीहरूलाई २४ घण्टाको अल्टिमेटम दिनुभयो र बिहीबार छिमेकी फरिदपुर जिल्लामा अर्को पदयात्रा गर्ने सम्भावना रहेको बताए ।

दक्षिणपन्थी जमात–ए–इस्लामी पार्टीले विद्यार्थी नेतृत्वको पार्टीमाथि भएको आक्रमणको निन्दा गरेको छ र बिहीबारका लागि सबै जिल्ला र मुख्य सहरहरूमा देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।

– अशान्त राष्ट्र –

झडपले राष्ट्रिय मेलमिलापको आशालाई कम गरेको भन्दै अन्तरिम सरकारका आलोचकहरूले बढ्दो ध्रुवीकरणको चेतावनी दिएका छन् । यद्यपि युनुसको प्रशासनले हसिना पछिको युगमा व्यवस्था ल्याउने वाचा गरेको छ । आलोचकहरूले अवस्था सुधार नभए लोकतन्त्रमा शान्तिपूर्ण सङ्क्रमण खतरामा पर्ने बताएका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता युनुसले हसिना पदच्यूत भएर भारत भागेको तीन दिनपछि देशको जिम्मेवारी लिएका थिए र व्यवस्था पुनःस्थापना गर्ने वाचा गरेका थिए । उनले आगामी वर्षको अप्रिलमा नयाँ चुनाव हुने वाचा गरेका छन् ।

हसिनाले अहिले मानवता विरुद्धको अपराधको आरोपको सामना गरिरहेका छन् भने सरकारले उनलाई भारतबाट सुपुर्दगी गर्न खोजिरहेको छ । भारतले बङ्गलादेशको अनुरोधलाई कुनै प्रतिक्रिया दिएको छैन ।

गोपालगञ्ज राजनीतिक रूपमा संवेदनशील जिल्ला हो । हसिना बुबाको समाधि त्यहाँ अवस्थित छ । देशको स्वतन्त्रता नेता शेख मुजीबुर रहमानलाई सन् १९७५ मा सैन्य कूमा उहाँको परिवारका अधिकांश सदस्यसँगै हत्या भएपछि त्यहाँ गाडिएको थियो ।

नेसनल सिटिजन पार्टीले बङ्गलादेशी राजनीतिमा आफूलाई नयाँ शक्तिका रूपमा स्थापित गर्ने अभियानको एक हिस्साका रूपमा सबै जिल्लामा हुने भन्दै महिनाको सुरुमा आफ्नो ‘राष्ट्र पुनर्निर्माणका लागि जुलाई मार्च’ सुरु गरेको थियो ।

बङ्गलादेशको राजनीतिक विगत मुख्यतया दुई वंशवादी पार्टीहरू – हसिनाको आवामी लिग र उहाँका प्रतिद्वन्द्वी एवं पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रवादी पार्टी (बिएनपी) द्वारा हावी भएको छ । हसिनाको पार्टीको अनुपस्थितिमा सत्तामा आउने आशा राख्ने बिएनपी बुधबारको हिंसाको बारेमा धेरैजसो मौन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *