काठमाडौं । पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबीच भएको कुराकानीको घुस डिलको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न सरकारमाथि दबाब परेको थियो । सरकारमाथि दबाब परेपनि प्रधानमन्त्रीले गुप्तालाई बर्खास्तको निर्णय गरेनन् । अन्ततः मंगलबार बिहान गुप्ताले मन्त्री पदबाट राजीनामा दिए । दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक थियो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मन्त्री गुप्ताले राजीनामा दिएर नपुग्ने भन्दै पक्राउ गरे अनुसन्धान सुरु गर्न सरकारसँग माग गरे । मन्त्री नै यसरी घुसकाण्डमा मुछिएपछि उनले सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै आक्रोश पोखे । उनले भने, ‘पहिलेपहिले एउटा चलन थियो । ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू । तर अहिले भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु भन्ने अवस्था आएको छ ।’
शाहीको यस्तो अभिव्यक्ति आएपछि नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रतिवाद गरिन् । उनले सरकारको नेतृत्वमाथि अनर्गल आरोप लगाइएको भन्दै शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।
घुस डिलको अडियो प्रकरणले आफूहरु लज्जित हुनुपरेको कतिपय सांसदले सदनमा बताए पनि । आरोपी मन्त्रीले राजीनामा दिए, उनको ठाउँमा नयाँ मन्त्री नियुक्त भइसकेका छन् । तर गुप्तामाथि थप अनुसन्धानका लागि सरकार, अख्तियार भने मौन बसेका छन् । मन्त्रीको घुस डिल ७८ लाखको थियो । सदनमा यो घुस डिलकाबारेमा बहस भइरहँदा मंगलबार दिउँसो भक्तपुर मालपोत कार्यालयका प्रमुखसहित तीन कर्मचारीलाई साढे २४ लाख घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अख्तियारले हिरासतमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । तर ७८ लाखको घुस डिलको प्रकरण बाहिरिँदा किन अख्तियार मौन बसेको भन्दै प्रश्न उठेको छ ।
घुस डिल प्रकरणमा संलग्नलाई जोगाउन नहुनेमा प्रतिपक्षका मात्र होइन सत्तापक्षकै सांसद पनि छन् । नेकपा एमालेका सांसद सूर्य थापाले घुसकाण्डको अडियो प्रकरणमा संलग्नहरुकाबारेमा अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले यस प्रकरणमा विवादास्पद अडियोमा कोको संलग्न रहेका छन् र ती सक्कली हुन् कि नक्कली हुन् भन्ने विषयमा अनुसन्धान हुनुपर्ने बताए । उनी भन्छन्, ‘यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन् ? ती सक्कली हुन् कि नक्कली ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भएपनि नियन्त्रणमा लिइहालेर छानबिन गरी दुधको दुध÷पानीको पानी छुट्याउनु पर्छ ।’
मन्त्रीले घुस डिल गरेकोप्रति कांग्रेस सांसद राजेन्द्र बजगाईंले मन्त्रीहरुलाई व्यंग्य गर्दै प्रश्न गरेका छन्, ‘मन्त्रीहरू चोरै हुन्छन् रे– घुस खान्छन् रे हो ?’
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले चाहिँ ज्ञानेन्द्र शाहीकै शैलीका प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका छन् । उनी भन्छन्, ‘ओली सरकारमा लाख,करोड र अर्बका भ्रष्टाचार काण्ड आइरहन्छन् । मात्र पर्खनु पर्छ । काम हैन, कमिसन । जहाँ ओली सरकार,त्यहाँ भ्रष्टाचार । सरकार भ्रष्ट नभै भ्रष्टाचारीको सरकार ।’
अडियो प्रकरणमा मुछिएपछि मन्त्री गुप्ताले त पदबाट राजीनमा दिए । तर गुप्ताले राजीनामा दिएको भोलिपल्ट बुधबार भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले पनि यो प्रकरणमा ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ । तर अधिकारीको सवालमा पनि प्रधानमन्त्री मौन छन् । यो अडियो अहिले सार्वजनिक भएपनि पाँच महिना अघि नै प्रधानमन्त्री जानकार रहेको बताइन्छ । यसअघि पनि केपी ओली २०७६ मा प्रधानमन्त्री भएकै बेला सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोडको घुस डिल गरेका गोकुल बास्कोटले राजीनामा त दिए । तर अडियो दिने व्यक्ति सम्पर्कविहीन भएको लगायतका कारण थप प्रमाण नभएको भन्दै अख्तियारले त्यसलाई त्यतिकै थन्क्याइदिएको छ ।
हुन त गुप्ताले कहिले काहीँ नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ भन्दै राजीनामा दिएका छन् । उनले प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन भन्ने अपेक्षा गरेको उनले बताएका छन् ।हिजो गोकुल बास्कोटाको बारेमा अख्तियारले ठोस निर्णय गरिदिएको भए आज उनले ७० करोडको ट्याग कि भिर्नुपर्ने थिएन, कि मुद्दा चलाउनुपथ्र्यो । तर गुप्ताले पनि राजीनामा दिएपछि सामसुम हुने हो कि भन्ने आशंका छ ।
तर यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेललाई ७ हजार घुससहित पक्राउ गरेर अख्तियारले अनुसन्धान सुरु गर्नु, भक्तपुर मालपोतका प्रमुखसहित तीन जनालाई पनि हिरासतमा राखेर अनुसन्धान गर्नु, अनि एक लाख घुससहित पक्राउ गरेका सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह पनि अख्तियारको नियन्त्रणमा हुँदा ७८ लाखको घुस डिलको अडियो आउँदा मन्त्री गुप्ता र अधिकारीलाई अख्तियारले किन देखेन भन्ने प्रश्च चाहिँ उठेको छ ।
राजनीतिक विश्लेषक मुमाराम खनाल यी अडियो रेकर्डहरु राजनीतिक ढाकछोपका स्वाहा हुने बताउँछन् । उनी भन्छन्, ‘घुस मागेका अडियो रेकर्डहरू बाहिरिने सवालमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता एक्ला मन्त्री होइनन्, यसभन्दा अघि माओवादीका कृष्णबहादुर महरा र एमालेका गोकुल बास्कोटाका रेकर्डहरू राजनीतिक ढाकछोपमा स्वाहा भए । र, यो पनि हुनेछ ।’
खनाल अपवादबाहेक मन्त्री हुने ७५ प्रतिशत नेताहरूको वास्तविकता यही भएको टिप्पणी गर्छन् । उनको टिप्पणी छ, ‘सवाल यो कि अपवादबाहेक मन्त्री हुने ७५ प्रतिशत नेताहरूको वास्तविकता यही हो । अडियो बाहिर नआएको मात्र हो । यस्ताले राजीनामा दिए के ?! नदिए के ?!! अर्को आउने पनि यसैको फोटोकपी नै हो।’
अब यो विषय खनालले भनेजस्तो राजनीतिक ढाकछोपमा स्वाहा हुने हो कि सूर्य थापाले भने जस्तो अनुसन्धान भएर दोषीलाई कारबाही होला ? किनकी यो विषय अब सरकार र अख्तियारको पनि त हो नि ।