काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरू भएको छ । सरकारले बजेटमार्फत लिएका नयाँ नीति र घोषणाहरु आजैबाट कार्यान्वयनमा जानेछन् ।
आर्थिक वर्ष अर्थात् २०८२/८३ का लागि गत जेठ १५ मा ल्याएको बजेट कार्यान्वयनमा जानेछ । अर्थ मन्त्रालयले नयाँ वर्ष कार्यान्वयनका लागि बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ । साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरुलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा लैजाँदैछ ।
अर्थमन्त्री विष्णु पौडेलले २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका छन् । सरकारले आगामी वर्षमा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजनासहित बजेट छुट्याएको छ ।
उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोरिने सरकारी योजना छ ।
यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने योजना छ । आजैबाट विभिन्न शीर्षकका करका दर पनि लागू भएका छन् ।