झापा । सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् ।
अर्जुनधारा नगरपालिकामा बुधबार अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदबाट भूमिसम्बन्धी नयाँ कानून निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताए ।
उनले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महङ्गो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गरे । वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको सङ्ख्यामा बृद्धि भइरहेको बताए ।
‘धेरै सुकुम्बासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्,’ उनले भने, ‘कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान हुन्छ ।’ उनले वर्तमान भूमि आयोगले राम्रो काम गरिरहेको बताए ।
अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई आज जग्गाको धनीपूर्जा वितरण गरिएको छ । सभामुख घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गरेका थिए ।
यसैबीच, सभामुखले भूमिसम्बन्धी विधेयक पारित हुने बताए पनि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार राष्ट्रियसभामा अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेसँगै विधेयक पारित हुन असम्भव छ ।
नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ । तीन सांसद रहेको जसपा नेपालको साथ नपाउँदा यसअघि नै सत्तारुढ दल राष्ट्रिय सभामा अल्पमतमा परेको थियो ।
५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६ र एमालेसँग ११ सिट मात्र छ । सरकारमा रहेको अर्को दल लोसपासँग एक सिट छ । यो संख्या जोड्दा २८ मात्र हुन्छ । माओवादीसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३ र राष्ट्रिय जनमोर्चासँग एक सिट छ । राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णय गरिसकेका छन् ।