बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा शाङ्घाई सहयोग संगठन (एससीओ) सदस्य राष्ट्रहरूको विदेशमन्त्री परिषदको बैठकमा सहभागी विदेशी मन्त्रीहरू तथा स्थायी निकायका प्रमुखहरूसँग भेट गरेका छन् ।
बैठकमा राष्ट्रपति सीले एससीओ स्थापना भएको २४ वर्षयता संगठनले ‘शाङ्घाई आत्मा’को मूल्य मान्यतालाई अँगाल्दै संस्थागत परिपक्वता र बलियो जीवन्तता प्रदर्शन गरेको उल्लेख गरेका छन् । उनले चीनले एससीओलाई सधैं आफ्नो छिमेकी कूटनीतिमा उच्च प्राथमिकता दिँदै आएको र संगठनलाई अझ सबल र प्रभावकारी बनाउने दिशामा अग्रसर रहेको बताए ।
चीनले सधैं एससीओलाई आफ्नो छिमेकी कूटनीतिक प्राथमिकताको रूपमा लिएको र संगठनलाई थप प्रभावकारी तथा मजबुत बनाउने, क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने, सदस्य राष्ट्रहरूको विकास र समृद्धिलाई प्रवद्र्धन गर्ने तथा साझा भविष्यको नजिकको समुदाय निर्माण गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
उनका अनुसार, गत जुलाईमा चीनले घुमफिर राष्ट्राध्यक्षको रूपमा जिम्मेवारी लिएपछि यसले सक्रियतापूर्वक कार्यक्रमहरू सञ्चालन गर्दै सहयोगलाई अघि बढाएको छ, र सबै पक्षले मिलेर एससीओका लागि राम्रो घर निर्माण गर्न ठोस कदम चालेका छन् ।
यस वर्ष एससीओ शिखर सम्मेलन चीनको तियानजिनमा आयोजना हुने भएकाले राष्ट्रपति सीले अन्य सदस्य राष्ट्रका नेताहरूसँग भेट गरी एससीओको भविष्य विकासबारे छलफल गर्ने आशा व्यक्त गरे।
उनले भने, ‘वर्तमान अन्तर्राष्ट्रिय परिवेश अस्थिर र परिवर्तनशील भइरहेका बेला, एससीओले आफ्नो लक्ष्यमा अडिग रहनु, आत्मविश्वासी रहनु, प्रभावकारी रूपमा कार्य गर्नु, र विश्वमा थप स्थायित्व र सकारात्मक ऊर्जा प्रवाह गराउने भूमिकामा अझ सक्रिय बन्नु आवश्यक छ।’
केही दिनअघि भारतीय संचारमाध्यमले राष्ट्रपति सी सार्वजनिक कार्यकममा नदेखिएको भन्दै अनेक अड्कलबाजी गरेका थिए । एक दशकभन्दा बढी समयपछि पहिलोपटक २०२५ को रियो शिखर सम्मेलनमा सहभागी नहुँदा उनीबारे विभिन्न अड्कलबाजी गरिएको हो । सी जुन २४ यता सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
राज्य सञ्चालित मिडियाले जारी गरेको भिडियोमा उनी जुन ४ मा बेलारुसका राष्ट्रपति अलेक्सान्दर लुकासेन्कोसँग भेटघाटका क्रममा सार्वजनिक रूपमा देखिएका थिए ।
बेलारुसी प्रेस सेवाले पनि सीलाई ‘थकित, विचलित र सामान्यतया अस्वस्थ’ देखिएको वर्णन गरेको थियो । सत्तामा सीको पकड कमजोर हुँदै गइरहेको हुन सक्ने भारतीय संचारमाध्यमले टिप्पणी गर्दै आएका थिए । भारतीय संचारमाध्यमले राष्ट्रपति सी माथि कु भएको भन्दै अपबाह फैलाएका थिए । तर सी सार्वजनिक कार्यक्रममा देखिएसँगै भारतीय संचारमाध्यमको अड्कल गलत सावित भएको छ ।