काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो जिम्मेवारी पार्टी केन्द्रीय कमिटीले तय गर्ने बताएकी छन् । मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने विषयमा जानकारी दिन मदन भण्डारी फाउन्डेसनले मंगलबार गरेको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थितिबारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी हुन् ।
उनले एमालेको केन्द्रीय कमिटी बैठकले पक्कै पनि आफूलाई जिम्मेवारी दिने विषयमा छलफल गर्ने बताइन् । उनले भनिन्, ’यो विषय पार्टीको केन्द्रीय कमिटीले तय गर्ने हो । मलाई प्रतिनिधि बनाएर लैजानुहुन्छ कि बनाउनुहुन्छ, त्यो केन्द्रीय कमिटी बैठकले तय गर्छ ।’
उनले केपी ओली नेतृत्वको तत्कालीन सरकारबाट भएको संसद विघटन आफूले कार्यान्वयनमात्र गरेको बताइन् । उनले भनिन्, ’ विगतको कुरा हो तर यसले मलाई पछ्याइरहन्छ । यसमा म जानकार नै छु। मैले कुनै प्रेसर, दबाबमा होइन । २०१७ साल र ५१ सालमा पनि संसद विघटन भएका थिए। म राष्ट्रपति हुँदा पनि संसद विघटन भयो। मैले मन्त्रिपरिषद्को सिफारिसलाई कार्यान्वयनमात्र गरेकी हुँ। यद्यपि त्यो छलफलको विषय होला ।’