काठमाडौं । धरहरा अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए ।
धरहरा अहिले दैनिक बिहान १० बजेदेखि अपरान्ह चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ । । ‘अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं । धरहरा घुम्न चाहनेहरुका लागि सार्वजनिक विदाको दिन पनि अब खुला रहनेछ,’ मन्त्रालयका प्रवक्ता मैनालीले भने ।
०७२ वेशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि यही असोज ३ गतेबाट परीक्षणका रुपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो । सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको भन्दै गुनासो गर्दै आएका थिए भने सार्वजनिक विदाको दिन बन्द नगर्न सुझाव दिएका थिए ।
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढोस् भन्ने नागरिकको चाहना अनुसार तयारी गर्न भनेपछि मन्त्रालयले सोही अनुसार दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो ।
भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ । धरहरा सञ्चालन भएको यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा छ ।
–झापाको विजनेश कम्प्लेक्स खुला हुने
झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । शहरी विकास मन्त्रालयले अहिले परिक्षणका रुपमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो । एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।
–साउन १ बाट मन्त्रालयका काम पेपरलेस हुने
शहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा एकिकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारवाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्ने सचिव गोपाल सिग्देलले बताए । मन्त्रालयका सचिव सिग्देलले आंशिक रुपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्यवयनमा ल्याउने जानकारी दिए । ‘सरकारी कामकारवाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौं,’ सचिव सिग्देलले भने,‘ अब अन्तर मन्त्रालय फाइल र चिठि पत्र, मन्त्रालय र विभागहरुबिच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ । सबै डिजिटलाइज हुनेछ ।’
–अनधिकृत गाडी प्रयोगमा रोक, विद्युतीय हाजिरीमा कडाइ
शहरी विकास मन्त्रालयले अनधिकृत रुपमा प्रयोग भएका मन्त्रालयका गाडीहरु फिर्ता ल्याएको छ । साउन १ गतेबाट नेपाल सरकारको मापदण्डभित्र पर्नेलाई मात्र गाडी सुविधा दिइने मन्त्रालयले जनाएको छ । पाउनुपर्नेले गाडी नपाएको र मापदण्डमा नपर्नेले गाडी प्रयोग गरेको पाइएपछि उपप्रधानमन्त्री सिंहको निर्देशनपछि अनधिकृत रुपमा प्रयोग भएका गाडी फिर्ता ल्याइएको छ । मन्त्रालयबाट सरुवा भइ जाँदा सचिव र उच्च पदस्थ कर्मचारीहरुले सँगै लगेका सवारीसाधन पनि फिर्ता ल्याइएको छ ।
त्यस्तै, मन्त्रालयले साउन १ गतेबाट विद्युतिय हाजिरीमा पनि कडाई गर्ने भएको छ । अहिले विद्युतिय हाजिरिको व्यवस्था भएपनि विभिन्न बहाना बनाएर हाजिरि टार्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले कडाइ गर्न लागेको हो ।