सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न राष्ट्रियसभाका सांसदको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सभाको मंगलबारको बैठकमा सदस्यहरुले सभाबाट पारित यस सङ्कल्प प्रस्तावको कार्यान्वयनका लागि सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । बैठकको शून्य समयमा सांसदहरु गङ्गाकुमारी, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने र सुमित्रा बिसीले छाउगोठमा सर्पले डसेर महिलाको मृत्यु भएको भन्दै बालिका तथा महिलालाई सुरक्षित र मर्यादित महिनावारीका लागि आवश्यक कानुनी र संरचनागत सुधारका लागि आग्रह गरे ।

महिनावरीको अवधिमा भोग्नुपर्ने बहिष्करण, हिंसा, विभेद तथा तीनका कारण उत्पन्न शारीरिक र मानसिक पीडा एवं असुरक्षा हुने गरेको छ । विभेदको अन्त्य, सामाजिक न्याय, मौलिक अधिकार र मानव अधिकारको रक्षा सुनिश्चित गर्न कानुनी तथा संरचनागत सुधारको आवश्यकता रहेको सो प्रस्तावमा उल्लेख छ ।

शून्य समयमा सांसद इन्दिरादेवी गौतमले गर्मीयाममा सर्पदंशका बिरामीलाई तुरुन्त औषधि र उपचारका उपलब्ध गराउने व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले वर्षायाममा डेङ्गी, झाडापखाला र टाइफाइडजस्ता सङक्रमण फैलन सक्नेतर्फ सचेत गराउँदै आपतकालीन सेवा बजेट व्यवस्थापनको माग गरिन् ।

सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन पक्ष अस्तव्यवस्त भएको भन्दै विद्यार्थीमैत्री नीति र कर्मचारीको व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षाका उपलब्ध गराउनुपर्ने राय व्यक्त गरे ।

शून्य समयमा सांसद राधेश्याम पासवानले सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरिरहेका उल्लेख गर्दै यसबारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *