काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले घुसकाण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपनि अर्का मन्त्रीकाबारेमा प्रश्न उठाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गुप्ताले नाम लिएका भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्ने कि नपर्ने भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएको छ, नैतिकताका आधारमा । उहाँले पोलेका अर्का मन्त्रीले के गर्ने ? यसमा पनि छानबिन प्रक्रिया अगाडि बढाउनुपर्छ ।’
मन्त्री गुप्ताले घुस प्रकरणको अडियोमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले पैसा लिएर काम नगरेको बताएका थिए । गुप्ताले आज राजीनामा दिइसकेका छन् ।
मन्त्री अधिकारीले सोमबारको प्रतिनिधिसभा बैठकमा कसैले बोलेकै भरमा आशंका नगर्न र प्रमाण ल्याए कारबाही भोग्न तयार रहेको बताएका थिए ।