काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक शाहीले भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू भनेर अभिव्यक्ति दिएका थिए । शाहीले भनेका थिए, ‘ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानु भन्ने चलन थियो । भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू । मन्त्री क्वार्टरमा पैसा दिएको छ, राजीनामा दिएर स्वीकृत हुन्छ ? भ्रष्टाचारीको पनि देश हो भनेर नाम लेखाउनुस तपाईंहरूको सरकारले ।’
शाहीले यस्तो बोलेलगत्तै नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारको नेतृत्वकर्ता प्रधानमनत्री ओलीमाथि लगाएको आरोपप्रति आपत्ति जनाएकी हुन् । उनले सरकारको नेतृत्वमाथि अनर्गल आरोप लगाइएको भन्दै शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।