रास्वपाको प्रश्नः गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले आफूहरुको मागको सुनुवाइ गर्नुको साटो पेलेको बताएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद शिव नेपालीले आफूहरु बोलेको बोल्यै, र सरकार पेलेको पेल्यै अवस्था रहेको बताएका हुन् ।

उनले रास्वपाले लगातार ४९ दिनदेखि आवाज उठाए पनि कुनै छानबिन नहुनु सरकारको गैरजिम्मेवारीपनको परकाष्ठा भएको बताए । उनले भने, ‘हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ।’

उनले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक, भ्रष्टाचार र घुस प्रकरणमा संलग्न रहेका मन्त्रीहरूलाई अहिलेको नेतृत्व जोगाउन लागेको आरोप लगाए । सांसद नेपालीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने बताए ।

उनले भने, ‘घुस प्रकरणमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन पनि हुनुपर्छ ।’

उनले अध्यागमन विभागमार्फत भएको मानव तस्करीमा गृहमन्त्री प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका भन्दै प्रश्न गरे, ‘गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *