बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नाटोमार्फत अत्याधुनिक हतियार उपलब्ध गराउने घोषणा गरेका छन् । साथै, यदि ५० दिनभित्र युक्रेन–रुस युद्धमा सम्झौता नभए, रुससँग व्यापार गर्ने मुलुकमाथि १०० प्रतिशत महसुल लगाउने चेतावनी दिएका छन् ।
ट्रम्पले सोमबार नाटो महासचिव मार्क रुट्टेसँगको भेटपछि भने, ‘हामी युक्रेनलाई जित्नसक्ने हैसियतमा ल्याउनेछौं।’ उनका अनुसार युक्रेनलाई दिइने हतियारहरू ‘अरू देशमा पाइन नसक्ने’ खालका हुनेछ र अर्बौं डलर बराबरको हुनेछ।
रुट्टेले भने, ‘नाटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आवश्यक हतियार र सुरक्षासामग्री ठूला मात्रामा दिनेछन्, जसको भरमा उसले आफ्नो सार्वभौमिकता जोगाउन सक्छ।’
अमेरिकाले युरोपेली राष्ट्रहरूलाई आफ्ना प्याट्रियट एयर डिफेन्स प्रणाली युक्रेन पठाउन प्रोत्साहित गर्नेछ, र तीको सट्टामा अमेरिका नयाँ सुरक्षा प्रणाली उपलब्ध गराउने वाचा गरिएको छ।
राष्ट्रपति ट्रम्पले भने, ‘यदि म पुटिन हुन्थें भने म अहिले वार्ताका विषयमा गम्भीर सोच्ने थिएँ।’ रुट्टेले पनि त्यसमा सहमति जनाउँदै भने, ‘यो सन्देश स्पष्ट छः युद्ध अब टुंगिनुपर्छ।’
ट्रम्पले रुसमाथि व्यापार महसुल लगाउने योजना सार्वजनिक गर्दै भने, ‘यदि युद्ध ५० दिनभित्र रोकिएन भने, जो कोहीले रुससँग व्यापार गर्छ, उसले अमेरिकामा १०० प्रतिशत महसुल तिर्नुपर्छ।’
यसको अर्थ, भारतजस्ता देशले रुसबाट तेल खरीद गरेमा, ती देशका अन्य सामानहरूमा अमेरिका प्रवेश गर्दा १०० प्रतिशत आयात कर लाग्नेछ । ट्रम्प प्रशासनको विश्वास छ, यसले रुसको व्यापार सञ्जालमा गहिरो असर पार्नेछ ।
हाल रुसको निर्यातको करिब ६० प्रतिशत हिस्सा तेल र ग्यासमा आधारित छ। यसै माध्यमबाट उसले युक्रेन युद्धका लागि आवश्यक आर्थिक स्रोत जुटाउँदै आएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समार्फत प्रतिक्रिया दिँदै ट्रम्प र रुट्टे दुवैलाई धन्यवाद दिएका छन्। उनले लेखेका छन्, ‘हामीले अमेरिकी नेतृत्वसँग नागरिक सुरक्षाका उपायहरू, न्यायसंगत शान्तिका सम्भावना र रक्षात्मक आवश्यकताबारे गम्भीर छलफल गरेका छौं।’