-नारायण गाउँले ।
प्रधानमन्त्री ओलीज्यू ! राजीनामा होइन, ऋण मागेर चलाउनुपर्ने देशमा भ्रष्टाचारको यस्तो नाङ्गो नाचले अलिकति पनि पोल्छ भने त्यो भूमिमन्त्रीलाई तत्काल पाता कस्नुहोस् । एउटा जिल्लाको भूमि आयोगमा एउटा कर्मचारीको सरुवा गर्न बीस लाख घुस दिनुपर्छ । त्यो पनि एउटा मन्त्रीलाई दिएर हुँदैन भने यो भ्रष्टाचारको, घुसखोरीको जालो कति ठूलो होला ? देशमा ७७ जिल्ला र जिल्लैपिच्छे आयोग छन् । के आफ्नै क्याबिनेटका, आफ्नै पार्टी र गुटका मन्त्रीले दिएको स्वीकारोक्ति पनि प्रमाण हुँदैन ? के भ्रष्टले फोटो र भिडियो खिचेर, प्रमाणका लागि ल्याप्चे लगाएर घुस खान्छ ? के ठगले ठगीको प्रमाण बनाएर ठग्छ ?
एउटा बिचौलिया बीसौं लाख बुझाएर किन भूमि आयोगमा पस्न खोज्छ ? तपाईंले बुझ्नुभएको छैन र ? त्यसभित्रको भयावह हिनामिना र भ्रष्टाचारको सजिलै कल्पना गर्न सक्नुहुन्न र ? देशभर भूमि आयोगमाथि यसैगरी घुस लिएर बिचौलिया भर्ना गर्ने र तिनकै हितलाई ध्यानमा राखेर संसदबाट भूमिसम्बन्धी ऐन बनाउने खेल त हुँदै छैन ? यो एकदम गम्भीर र गरीबतम् निमुखा नागरिक जोडिएको विषय हो । गाँस, वास नभएको सुकुम्बासीको भाग खोसेर कार्यकर्ता पाल्ने खेलको झिल्को हो ।
आजको अडियो होइन यो । साना पत्रिकाले एक महिनाअघि नै छापेको हो । किन केही कारबाही भएन ? देशभर सामाजिक सञ्जाल र ठूला मिडियाले आबाज उठाएपछि देखाउनका लागि, त्यो पनि प्रसस्त टाइम दिएर राजीनामा गराउनुमाथि पनि शङ्का छन् । अझ भूमिमन्त्रीलाई त सोधपुछ पनि भएको छैन ।
एउटा कर्मचारीको सरूवामा बीस लाख खाने गुप्ताले देशभर सरूवा आतङ्क मच्चाएको खबर छापिइरहन्थ्यो । कति करोड र अर्बको खेल भएको होला । के त्यो सबै रकम गुप्ताको पकेटमा मात्रै होला र ? के सम्पत्ति शुद्धीकरण र जेल सरकारबाहिरका लागि मात्रै हो ? के भ्रष्टाचारमा शून्यसहनशीलता भनेको यही हो ? ओलीजी, एउटा कठोर निर्णय लिएर, भ्रष्टलाई निर्मम दण्डित गरेर लाखौं कर्मचारीलाई यो घुस आतङ्कबाट केही राहत दिलाउन सकिन्न र ? नत्र त एउटा किर्नो आउँछ, चुस्छ, मोटाउँछ । हल्ला भयो भने झर्छ । अर्को आउँछ । यो खेल चलिरहन्छ ।