नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट ३ सय ८७ किलोमिटर दक्षिण पश्चिममा उक्त लरी दुर्घटनामा परेको हो।
लरीमा ४० टन आँप राखिएको र त्योमाथि २० जना कामदार राखिएका हुँदा दुर्घटनामा परेको प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका छन्। लरी पल्टिएपछि आँपका क्रेट कामदारमाथि परेका थिए।
दुर्घटनामा बाँचेका र उद्धार गरिएकाहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले ओभरलोडका कारण लरी दुर्घटनामा परेको तर लरीका चालकले भने विपरीत दिशाबाट आइरहेको कारमा ठोक्किएर लरी दुर्घटनामा परेको दाबी गरेका छन्।