काठमाडौं । साफ यु-२० महिला च्याम्पिनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आइतबार बेलुकी सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३-२ गोलले पराजित भएको हो ।
बसुन्धरा किङ्स एरिनामा भएको खेलमा बंगलादेशले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै जित निकालेको हो । बराबरीतर्फ लम्किएको खेलको दोस्रो हाफको इन्जुरी समयको नवौं मिनेटमा बंगलादेशकी श्री मोति त्रिशना रानीले गोल गर्दै टोलीलाई तीन अंक दिलाएकी हुन् ।
यसअघि नेपालको लागि मिना देउबा र अनिशा राईले समान एक/एक गोल गरेका हुन् । पहिलो हाफमै दुई गोलले पछि परेको नेपालले दोस्रो हाफको अन्तिम १५ मिनेटमा दुई गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याएको थियो । खेलको ७७ औं मिनेटमा अनिशाले पेनाल्टीमा गोल गर्दै नेपाललाई २-१ गोलको स्थितिमा ल्याएकी थिइन् । १० मिनेटपछि मिनाले गोल गर्दै नेपाललाई २-२ गोलको बराबरीमा ल्याएकी थिइन् ।
जितसँगै बंगलादेश दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट तीन अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ ।