आफूलाई अनुशासन समितिबाट हटाइएको भन्दै नवराज सुवेदीले दिए आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अनुशासन समितिबाट हटाइएको भन्दै वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोग पुगेका छन् । आइतबार आयोग पुगेर सुवेदीले उजुरी दिएका हुन् ।

आयोगमा दिएको निवेदनमा चार वर्षे कार्यकाल बाँकी छँदै आफूलाई पदबाट हटाइनु विधान विपरीत हुने जिकिर गरेका छन् ।

उजुरीमा उनले भनेका छन्, ‘निवेदक पार्टीको अनुशासन समितिको वैधानिक अध्यक्ष रहेको, विधानले तोकेको पदावधि र कार्यकाल बाँकी नै रहेको र म स्वयंले पार्टीको विधान विपरीतको कुनै कार्य नगरी पार्टीको वरिष्ठ नेता एवं केन्द्रीय सदस्यको पदमा यथावत् नै रहेको र केन्द्रीय सदस्यको हैसियतबाटै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई विधान अनुसारको पदीय जिम्मेवारी निर्वाह गरी आएको अवस्था हुँदा मलाई अनुशासन समितिको अध्यक्षबाट हटाउने, मेरो स्थानमा अर्को व्यक्तिलाई तोक्ने समेतका काम कारबाही निर्णय पार्टीको विधान विपरीत रहेकोले यस सम्बन्धमा पार्टीका अध्यक्षज्यूबाट तत्काल लिखित प्रतिक्रिया लिई विधान विपरीत हटाउने र पदपूर्ति गर्ने लगायतका काम कारबाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा नियुक्त गरेका थिए । त्यससँगै राप्रपाभित्र विवाद बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *