२०८२ साल असार २३ गते बिहान करिब ५ः४५ बजे रसुवागढी क्षेत्रबाट एक हिमालयन सुनामीको भयावह खबर आयो । ग्यिरोङ काउन्टी, तिब्बतको प्युरेपु झाङ्बो नदीको (नेपालीमा लिंग्दे नदी) माथिल्लो भेगमा रहेको सुप्राग्लेशियल ताल अचानक फुटेर लिंग्दे नदीमा भीषण बाढी उत्पन्न भयो। यस बाढीले नेपाल-चीन सीमा जोड्ने मितेरी पुल ध्वस्त बनायो, दर्जनौं कन्टेनरहरू नदीमा बगायो र चिनियाँ र नेपाली क्षेत्रमा गरी कयौं जनधनको क्षति भयो ।
यो प्राकृतिक विपद्को घटना कुनै आकस्मिकता होइन । यो घटनाले हामीलाई हाम्रो हिमाली क्षेत्रको बदलिँदो जलवायु प्रणाली र त्यसले निम्त्याउने खतराहरूको गहिरो संकेत दिएको छ । विशेषगरी, सुप्राग्लेशियल तालहरू-जसले हिमनदीको माथिल्लो सतहमाथि पोखरीको रूप लिन्छन्-अब दिन–प्रतिदिन थप खतरनाक बन्दै गएका छन् । वर्षा, पग्लँदो हिम, र तातो तापक्रमको असरले यस्ता तालहरू निर्माण हुन्छन्, विस्तार हुन्छन्, र एकाएक चुँडिएर तल्लो भेगमा विनाश ल्याउँछन्।
रसुवागढीको यो ताल सन् २०१८ तिर पहिलोपटक देखिएको थियो । त्यसयता हरेक गर्मीयाममा विस्तार हुँदै, सन् २०२५ को जुन १० मा यसको क्षेत्रफल ०.२८ वर्ग किलोमिटर पुगेको थियो र जुलाई ५ सम्ममा बढेर ०.६० वर्ग किलोमिटरमा पुगेको पाइयो। जुलाई ८ मा ताल अचानक फुट्दा खोलामा एकैचोटी पानी बहन पुग्यो । गतवर्ष, सन् २०२३ मा पनि यस्तै बाढी आएको थियो, तर त्यतिबेला बहाव विस्तारै फैलिएको थियो भने तालको क्षेत्रफल ०.२२ वर्ग किलोमिटरले घटेको थियो । तर यो वर्ष तालको क्षेत्रफल ०.२२ वर्ग किलोमिटरले मात्र घटे पनि घटना झन् खतरनाक बन्यो, किनभने बाढीको बहाव तीव्र र एकैचोटीको भएको थियो।
यो सबैको मूल कारण हो, तापक्रममा भइरहेको तीव्र वृद्धि । पछिल्लो पाँच वर्षमा रसुवागढी क्षेत्रको तापमान वृद्धिदर औसत भन्दा धेरै देखिएको छ। विशेषगरी सन् २०२४ मा यस क्षेत्रको गर्मी असामान्य रूपमा बढेको र यहीँले तालको विस्तारलाई अत्यधिक बढाएको पुष्टि गरिएको छ। यस गर्मीले पानीको मात्रा बढायो, तर पानी बाहिर निस्कने मार्गहरू (subglacial drainage) हिम थुप्रो र हिमनदीको बरफको टुक्राहरूले थुनेपछि दबाब अत्यधिक भयो र अन्ततः ताल हिमनदी भित्र पानीले पाइपिङ बनाउँदै लगेको कारण फुट्यो । यो प्रक्रियामा सतही रूपमा कुनै ठूला संकेत देखिँदैन तर हिमनदीको भित्र पाइपिङको भएको ठाउमा पानीको बहाव अत्यधिक हुन्छ र सुप्राग्लेशियल तालको प्रणाली फुट्छ ।
यस्ता घटनाहरू अब हिमाली क्षेत्रमा नयाँ रहेनन् । सगरमाथा क्षेत्रमा गरिएको चन्द र वातानाबे (२०१९) को अध्ययन अनुसार, सुप्राग्लेशियल तालहरूको क्षेत्र २८ वर्षमा ३५०% ले वृद्धि भएको छ। त्यहाँ वार्षिक औसत तापमान वृद्धिदर ०.०२ डिग्री सेल्सियस रहेको छ। यो तथ्यले स्पष्ट देखाउँछ कि हिमाली भू–भागहरू जलवायु परिवर्तनको प्रभावमा तीव्र रूपमा परिवर्तन हुँदैछन्, र रसुवागढीको घटना पनि यही प्रणालीको हिस्सा हो ।
सबैभन्दा चिन्ताजनक पक्ष के हो भने, यो घटना अन्त्य होइन । रसुवागढी क्षेत्रको माथिल्लो जलाधारमा अझै पनि ५५ भन्दा बढी सुप्राग्लेशियल तालहरू रहेका छन्, जसको कुल क्षेत्रफल करिब ३.३९ वर्ग किलोमिटर रहेको छ। यी तालहरू मध्ये धेरैमा विशेषगरी गर्मीयाममा हिमनदीको भित्र पाइपिङको भएको ठाउमा पानीको बहाव बढेर फुट्ने सम्भावना बढेर गएको छ । यी तालहरू ऋतुगत रुपमा देखा पर्छन् र वसन्तऋतु देखि मनसुनसम्म विस्तार हुन्छन् अनि फेरि आकस्मिक रूपमा हराउँछन्। साना भए पनि जब हिमनदीको भित्र पाइपिङ हुन्छ, ती फुट्छन् र यदि एकैचोटी पानी ओइरिए ठूलो बाढी आउछ । नत्र, चैत्र–असारसम्म हिमालबाट बग्ने नदीमा बहाव बढ्छ, धमिलो पानी पनि आउछ तर अकस्मात बाढी आउदैन । यो हामी सबैले देखेको र बुझेको कुरा हो । पाइपिंग भएर साधारण रुपमा सुप्राग्लेशियल ताल को पानी थोरै र विस्तारै बगेमा चैत्र–असार मा नदीमा बहाव बढी त हुन्छ, तर खतरा हुँदैन
अतः अबको बाटो भनेको वैज्ञानिक चेतावनी प्रणालीको स्थापना, नियमित स्याटेलाइट निगरानी, जोखिम मूल्यांकन, र समुदाय–केन्द्रित पूर्वतयारी प्रणाली निर्माण गर्नु हो । नेपाल–चीन सीमामा साझा पूर्वसूचना प्रणाली, जोखिम नक्सांकन, र निर्माणक पूर्वसर्तहरू आवश्यक छन्। रसुवागढीको यो घटना एउटा हिमालको लागी ठूलो चेतावनी हो—यसले हामीलाई सतर्क हुन मौका दिएको छ। यदि हामीले यसलाई बुझ्न सकेनौ भने, भविष्यमा अझै अनियन्त्रित र दुखदायी अकस्मात बाढीहरु आउनेछ। हाम्रो हिमाली नदी किनार सुरक्षित छैन, सजग बन्ने बाहेक अब कुनै विकल्प छैन ।
(सबै तस्बिर बेइजिङ फरेस्ट्री विश्व विद्यालय र SKLGP चेन्दु विश्व विद्यालय, चीनको सहयोगमा प्राप्त गरिएको हो)