काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको शुरुवात गरेका छन् ।
साथै मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत शुरु गरेका छन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो ।
सेवा शुरुवात गर्दै मन्त्री पौडेलले शिक्षण अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरुमा धेरै आउनुको कारण यही भएको बताए । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए ।
बिरामी संख्या अधिक भएपनि इमर्जेन्सीमा शैय्या अभाव हुँदा एकै शैय्यामा दुई जनासम्म भर्ना गर्नु परेपछि अस्पतालले शैय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैय्या पुर्याएको हो ।
यसअघि आठ शैय्या मात्र हुँदा कतिपय अवस्थामा एउटै शैय्यामा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् ।