नेपाल विकासको बाटोमा छ कि विस्तारको ?

-डा. युवराज संग्रौला ।

घरमा सोफा फेर्नु भयो । टिभी र कोठाको रङ्ग पनि फेर्नुभयो । सबै चिटिक्क देखियो । नातेदार, साथीहरू आएर भन्नुहुन्छ निकै विकास भएछ । तर यो जे जति भयो त्यो विकास होइन ‘विस्तार वा वृद्धि’ मात्र हो । विकास त जीवन पद्धतिमा रुपान्तरण हो, जहाँ उत्पादन, उत्पादकत्व र जीवन भोगाइको सुगमता निर्माण हुन्छ । सुख र खुसी प्रकट हुन्छ । निराशाको अवस्था नष्ट हुँदै जान्छ र नकारात्मकतालाई सकारात्मकताले उछिन्छ । आध्यात्मिक परिवर्तन हुन्छ । हुन त यो अवस्थाले ‘आधुनिक’ भन्ने विशेषण पाउँछ, तर यही अवस्थामा इतिहासको विमर्श, संस्कृतिको पुनर्जागरण, र सभ्यताको मुर्तता देख्न सकिन्छ । समाज समस्याको समाधानका लागि सामर्थ हुन्छ। तर जब विकास ‘विस्तार र वृद्धि’ मा सीमित हुन्छ, त्यसले एकातिर समाजलाई नवउपनिवेशको अधिनमा ठेल्छ भने, समाज भ्रष्ट, बाताबरण ध्वस्त र मानसिकता अनैतिक र अपराधी हुन थाल्छ । अब आफैं सोच्नुहोस् नेपाल विकासको बाटोमा छ वा विस्तारको ! तथ्यहरु यस्ता छन्ः

१. विकास भन्दै पहाडहरु काका मेयरका भतिज–डोजरले खन्दा, पहाड लड्दै छन्, बाढीको प्रकोप ह्वात्तै बढेको छ, पहाडमा पानीका मुहान सुकेका छन् । जंगल मासेर प्लटिङ्ग हुँदै छन् । जमिनको व्यवस्थापन नष्ट हुँदै, जमिन प्रशासन भ्रष्टाचारको दलदल बन्दैछ । भूकम्पको जोखिम नाघेर घर बन्दै छन् । भविष्यले मानव क्षतिको ठूलो त्रासदी खप्नु पर्ने छ । पर्यावरण ध्वस्त हुँदै छ र मानिसको प्रवृत्ति स्वार्थी बन्दैछ । यो स्वार्थलाई समाज र देशको कुनै चिन्ता छैन । विकासमा प्रविधि र विज्ञानमात्र हावी भयो र चिन्तन बाहेक बन्यो भने हामीले देशलाई ‘सामाजिक र पर्यावरणीय रछ्यान बनाउनेछौं ।’

२. देशको ऋृणभार लगभग २८ खर्व पुगेको छ । वर्षको ४०/५० अर्ब ऋृण सेवामा जान्छ । नागरिकको उत्पादनमा आधारित आम्दानी छैन । पुँजीवादी वा नवउदारवादी उपभोक्तावाद्बले मानिसलाई ‘वस्तु (कमोडिटी)मा परिणत गरेको छ।’ आम्दानी विदेशी जागीर वा श्रमज्यालामा सीमित छ । बजार आयातित उपभोक्तावादी वस्तुको प्रभुत्वमा छ । मानिसको तलबी वा ज्यालादारी आम्दानीको ९४% उपभोगमा सकिन्छ। शिक्षा र स्वास्थको खर्चले मानिसलाई गरीबी तर्फ धकेलीरहेको छ। तरपनि विकासका नाममा मानिसका तडकभडक बढेका छन् । गाडी, घडी, हुनेको संख्या बढेको छ तर ती सबै वित्त पुँजीवादी बैंकका आम्दानी हुन् ।

३. समाज सांस्कृतिक बिचलनको शिकार भएको छ । देशभक्तिलाई संकीर्णता, सांस्कृतिक धरोहरलाई अन्धविश्वास, मातृभाषालाई काँठेबोली, नेपाली खानालाई पाखे खाना, संस्था बनाउने खाते र अस्लिलता चैं अधिकार बनेको छ। समाजमा नकारात्मकता बेचेर धनी हुने साहुहरुको बर्चस्व छ।

४. शिक्षाले चेतनालाई समाप्त पारेको छ । एआई थोपरेर पश्चिमी मान्यता जसले ‘हामी र तिमी’ भनेर विभाजन गर्छ त्यही मान्यताको दास हामीलाइ बनाइरहेको छ । राजनीतिमा यसकै दासत्व संरक्षण गर्ने राजनीति नेतृत्व खोजिरहेको छ । यसले विचार र राजनीतिक आर्थिक दर्शनको कत्लेआम गर्दैछ ।

अहिले नेपाली समाज विसर्जनको बाटोमा छ । नवउपनिवेशको बाटोमा दौडिरहेको छ। आर्थिक समृद्धिबाट विचलित भएर विदेशी बजारको प्रभुत्वको दास बन्दै छ। अतः

– उत्पादन र उत्पादकत्वको पुनर्निर्माणको पक्षमा चेतनाको निर्माण, उत्पादन र उत्पादकत्वको प्रवद्र्धन गर्ने उत्पादन शक्तिको निर्माण गर्ने व्यवसायिक शिक्षा, र राष्ट्रको भूगोल र भु–राजनीति सापेक्ष भौतिक निर्माण, कृषि उत्पादनमा स्वनिर्भरता, र स्थानीय श्रोतमा आधारित आद्योगिक विकास, ग्रामीण आयआर्जनका लागि यातायात, वस्तीविकास, लघुउर्जा परियोजना, शिक्षा, र बजार निर्माणका एकीकृत नीतिमा आधारित विकासको राजनीतिले मात्र देशलाई अगाडि लैजान सक्छ । अर्थात् विचारमा आधारित नागरिक सर्वोच्चता आजको आवश्यकताले मात्र देशलाई जोगाउन सक्छ । राजनीतिका नाममा अराजकता र भ्रष्टाचारको विरुद्धमा नयाँ विचारको खेती नै अबको राजनीतिक बाटो हो । तर देशमा अहिले पनि पार्टी खोल्ने उद्योग चलेको छ । बाटोमा हिंड्ने हरेक मान्छेको एउटा पार्टी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *