भोटेकोशीमा आएको बाढीले विस्थापित भएकालाई सुरक्षाकर्मीले यसरी पठाउँदैछन् गन्तव्यतर्फ(फोटोफिचर) 

काठमाडौं । असार २४ गते मध्यरातमा भोटेकोशीमा आएको बाढी कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेंशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाई ४ सय ८५ भन्दा बढीलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याएको छ । साथै भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र १ ईभी गाडीलाई सुरक्षित स्थानमा सारिएको  सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याउनुकोसाथै बाढीमा परी सुरक्षाकर्मीसहित स्थानीय सर्वसाधारण बेपत्ता भएका छन् ।  बेपत्ता भएकाहरुमा ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन् । हालम्म ४ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग मात्र फेला परेका छन् । फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुनसकेको छ भने अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।

ती शव तथा मानवअंग धादिङ्गको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनिटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोलाको किनारा तथा त्रिशुली नदिको किनारामा फेला परेको थियो ।

ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकाशीमा मिसिँदा नदीले उग्ररुप लिई रसुवा जिल्लाको गोसाईकेण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्याएको छ । नेपाल–चीन भन्सार नाका जोड्ने बाटो हाल अवरुद्ध भएको छ । उक्त क्षेत्रमा विद्युत सेजा अवरुद्ध छ भने संचारका साधनहरुले समेत काम गर्न छाडेको छ ।

सो क्षेत्रमा उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधरणहरु समेत खटिएका छन् ।त्यस्तै भोटेकोशी नदीमा आएको बाढीले जोखिमा रहेका घरपरिवारका १ सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विभिन्न निजी कम्पनीको हेलिकप्टरद्वारा असार २४ र २५ गते उनीलाई सुरक्षित स्थानमा सारिएको हो ।

भोटेकोशीमा आएको बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोेडर, एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसीन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ ।

भन्सार क्षेत्रमा रहेको ईभी गाडीका चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवक्र्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्षति पुर्याएको छ । बेपत्ता व्यक्तिको खोज, उद्धार तथा पुननिर्माणमा समेत जिल्ला समितिको बैठक बसी विभिन्न निर्यणहरु गरी जिल्लाका सम्पूर्ण संयन्त्रलाई सक्रिय बनाउँदै आएको सशस्त्र प्रहरीले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *