राहादानी विभागबाट पहिलो नाविक अभिलेख किताब जारी

काठमाडौँ । नेपाल सरकारले पहिलो पटक नाविक (सिम्यान्स) अभिलेख किताब जारी गरेको छ ।

पानी जहाजमा काम गर्ने व्यक्तिहरुलाई विभिन्न देशमा आवतजावत गर्दा आवश्यक पर्ने नाविक अभिलेख किताव राहदानी विभागले पहिलाे पटक जारी गरेकाे हाे ।

डेल्टा कोर्प सिप म्यान्याजमेन्ट कम्पनीमा कार्यरत इलाम सूर्याेदय नगरपालिका ४ का अमित कुमार सिंह उक्त किताब प्राप्त गर्ने पहिलाे व्यक्ति भएका छन् ।

राहदानी विभागले चार वर्षअगाडिदेखि विद्युतीय राहदानी जारी गर्न प्रारम्भ गरेसँगै नाविक अभिलेख किताबको व्यवस्था गरेको भएतापनि हालसम्म जारी गरिएको थिएन ।

नेपालको सिम्यान्स अभिलेख किताब नहुँदा नेपाली नागरिकले अन्य देशको सिम्यान्स अभिलेख किताब लिने गरेका थिए । पछिल्लो समयमा अन्य देशबाट जारी हुने त्यस्तो किताब लिन सहज नहुने र एउटा देशबाट लिइएको किताबलाई अन्य मुलुकहरुले मान्यता नदिने कारण नेपालीहरूले समस्या भाेग्दै अाएका थिए ।

पानी जहाज किनारमा रोकिएको अवस्थामा बाहिर निस्कन नपाउने अवस्था रहेकाे उल्लेख गर्दै सिंहले सिम्यान्स किताब नहुँदा रोजगारी पाउन पनि गाह्रो हुने गरेको बताए ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले नेपालको सिम्यान्स अभिलेख प्राप्त गर्ने पहिलो नागरिक भएकोमा सिंहलाई बधाई दिँदै नेपालबाट जारी उक्त किताबबाट सिंहलाई भविष्यमा सहजता पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *