कैलाशबाट फर्किएका तीर्थयात्रीलाई मार्ग परिवर्तन गरी तातोपानीबाट नेपाल ल्याउन थालियो

काठमाडौं । रसुवाको टिमुरेमा रहेको नेपाली चीनबीचको मितेरी पुल बगाएर आवतजावत ठप्प भएपछि मानसरोवर तथा कैलाश यात्रा पूरा गरेको पहिलो टोली तातोपानी नाका हुँदै नेपाल फर्किएको छ ।

नेपाल पर्यटन विकास व्यवसायी संघको आयोजनामा मानसरोवर गएको टोली गएराति चीनतर्फको केरुङ बजारमा बास बसरे बुधबार टिमुरेहुँदै नेपाल प्रवेश गर्ने योजना थियो ।

‘बाढीले केरूङको पुल बगाएपछि चीन सरकार र ल्हासास्थित नेपाली महावाणिज्यदूताबासको सहयोग एमव् हाम्राे संघकाे चिनियाँ ट्राभल एजेन्सीले हाम्रो पूर्वनिर्धारित रूट परिवर्तन गरी चाङ्मु (कोदारी) नाकातर्फ पुर्याएको थियो,’ टोलीको नेतृत्व गरेका संंघका अध्यक्ष अच्युत सिग्देलले नेपाल समाजसँग भने, ’कैलाश यात्रामा गएको समूहमध्ये उद्धार गरी कोदारी नाकाबाट नेपाल प्रवेश गराइएको हामी पहिलो टोली हौँ ।’

सोमबार राति चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरेस्थित अन्तर्राष्ट्रिय नाकामा रहेको मितेरी पुल बगाउनुको साथै ठूलो क्षति भएको थियो । केरूङबाट प्रवेश गरी कैलाश यात्रा पूरा गरेका करिब तीन सय नागरिकलाई ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा तातोपानी नाकाबाट फर्किने व्यवस्था मिलाइएको थियो ।

ल्हासास्थित महावाणिज्यदूत लक्ष्मी निरौलाले चिनियाँ भूमिमा अलपत्र परेका ५० नेपाली, २२ भारतीय र तथा मानसरोवर पुगेर नेपाल फर्कन लागेका अन्य २ सय नागरिकलाई तातापानी नाकाबाट उद्धार गर्न चिनियाँ पक्ष सहमत भएको जानकारी दिए ।

चिनियाँ भूमिमा अलपत्र परेका नागरिकलाई उद्धार गरिदिन महावाणिज्यदूतावासबाट गरेको आग्रहलाई चिनियाँ पक्षले स्वीकार गरी उनीहरुलाई तातोपानी नाकाबाट नेपाल प्रवेशका लागि सहजीकरण गरिएको हो । चीनको सिचाङ (तिब्बत)मा ट्राभल एजेन्सी तथा पर्यटकले सरकारको स्वीकृतिविना पूर्वनिर्धारित पर्यटकीय मार्ग र गन्तब्य परिवर्तन गर्न पाउँदैनन् ।

नेपाल फर्किने पहिलो टोलीको भ्रमण दलमा संस्थाका उपाध्यक्ष भागवत सिंखडा, कोषाध्यक्ष राजु थपलिया, सदस्यहरु वासुदेव पाण्डे, राजकाजी महर्जन, राजन खनाल, चरन शर्मा, रामेश्वरप्रसाद ढकाल, उपेन्द्र पाठक, भेषराम गौतम, हरि कार्की तथा रामेश्वर महर्जन छन् ।

ल्हासा, मानसरोवर तथा कैलाशको अवलोकन, अनुसन्धान तथा धार्मिक भ्रमणको उद्देश्य रहेपनि सो टोलीले चीनमा विभिन्न ठाउँमा नेपालको पर्यटन तथा हस्तकलाको प्रवद्र्धन गरेको थियो । अध्यक्ष सिग्देलले भ्रमणको दौरानमा ल्हासा तथा अन्य ठाउँका व्यवसायीहरुसँग नेपाली प्रतिनिधिमण्डलले छलफल तथा गोष्ठीको आयोजना गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *