दमौली (तनहुँ) । देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरेको छ । उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले रु चार लाख र सामुदायिक वन समूहले रु एक लाख १० हजार लगानी गरेको समूहका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए ।
सोही वडाकै चक्रवर्ती सामुदायिक वन समूहले चार हजार र रानीवन समूहले एक हजार सर्पगन्धाको बिरुवा रोपेका छन् । पहिला काठजन्य बिरुवा रोप्ने सामुदायिक वनमा अहिले भने महत्त्वपूर्ण तथा दुर्लभ वनस्पतिका रूपमा लिइने सर्पगन्धाको बिरुवा रोप्न थालिएको हो । देवघाट–५ कै कालिका सामुदायिक वन तथा वडा नं १ को सुनझाँक्री सामुदायिक वनले भने आफँै उम्रिएको सर्पगन्धाको संरक्षण गर्न थालेको छ ।
सर्पगन्धाको महत्व र उपयोगिता बुझेर नै व्यावसायिक खेती गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अधिकारीले बताए । सामुदायिक वनको आम्दानी बढाउन पनि उक्त खेती गरिएको उनको भनाइ छ ।
चक्रवर्ती सामुदायिक वन समूहका अध्यक्ष टुकनाथ अधिकारीले वनमा बढेको झाडी फाँडेर बहुमूल्य जडीबुटीका रूपमा रहेको सर्पगन्धाको खेती गरिएको जानकारी दिए । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनले आम्दानीको विभिन्न स्रोत खोज्नुपर्ने बताए ।
सबडिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले वन समूहका उपभोक्तालाई सर्पगन्धाको महत्वको बारेमा जानकारी गराएपछि यसको व्यावसायिक खेती गर्न सम्भव रहेको उल्लेख गरे । उनले भने, “यसअघि धेरैले झाडी ठानेर यसलाई मास्ने गरेका थिए । सर्पगन्धाको महत्व र उपयोगिताका बारेमा जानकारी गराएपछि सामुदायिक वनहरूले अहिले व्यावसायिक खेती गर्न थालेका छन् ।”
दुई सयदेखि पाँच सय मिटरको उचाइमा रहेको जग्गामा मात्र सर्पगन्धाको खेती गर्न सकिने हुँदा देवघाटकै वडा नं १ र ५ बाहेक अन्य वडाका सामुदायिक वनले भने यसको खेती गर्न सम्भव नरहेको भट्टको भनाइ छ । सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाइन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायन उच्च रक्तचाप, निन्द्रा नलाग्ने, डिप्रेसन, मानसिक उत्तेजना र मृगीजस्ता रोगहरूमा समेत उपयोगी भएकाले हानिरहित प्राकृतिक औषधिका रूपमा यसलाई प्रयोग गरिने उनले उल्लेख गरे ।
देवघाटमा पहिलोपटक व्यावसायिक खेती गरिएको हुँदा जनकपुर र सर्लाहीबाट प्रतिबिरुवा रु ५० का दरले खरिद गरिएको उनले बताए । सरकारले आर्थिक समृद्धिका लागि प्राथमिकता राखेका ३० प्रकारका जडीबुटीमध्ये सर्पगन्धा एक हो । यसको निकासी भन्सार दर नै प्रतिकेजी रु ५० तोकिएको छ । यसको राम्रो संरक्षण गर्नसके दुई वर्षपछि देवघाटका सामुदायिक वनले सर्पगन्धाको जरा बिक्रीबाट मात्र वार्षिक लाखौँ रुपैयाँ आम्दानी लिनसक्ने बताइएको छ ।