नेपालको एसियन कप खेल्ने सपना समाप्त

काठमाडौं । नेपालको एएफसी महिला एसियन कप खेल्ने सपना समाप्त भएको छ । शनिबार राति सम्पन्न छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएसँगै नेपाल एसियन कपको छनोट चरणबाटै बाहिरिएको हो ।

तास्केन्तस्थित बुन्योदकोर रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट ३-३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा उज्वेकिस्तानले बाजी मारेको हो । उज्वेकिस्तानको लागि सबै चार खेलाडीले गोल गर्दा नेपालको लागि गीता राना र सविता राना मगर मात्र गोल गर्न सफल भए । सावित्रा भण्डारीको प्रहार गोल पोस्टमा लाग्दा अन्जना राना मगरको प्रहार उज्वेकिस्तानकी गोलरक्षकले बचाइन् ।

यसअघि खेलको दोस्रो मिनेटमै पहिलो गोल बेहोरेको नेपालले ११ औँ मिनेटमा दोस्रो गोल बेहोरेको थियो । नेपालकी डिफेन्डर समिक्षा घिमिरेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि नेपाल २-० गोलले पछि परेको थियो । २४ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर ३९ औँ मिनेटमा उज्वेस्कितानले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा ३-१ गोलको अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा इगाशेभा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्वेकिस्तान १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफको ७१ औं र ७२ औँ मिनेटमा सावित्राले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेर नेपाललाई ३-३ गोलको बराबरीमा ल्याएकी थिइन् । छनोटमा सावित्राको यो लगातार तेस्रो ह्याट्रिक हो ।

जितसँगै उज्वेकिस्तान आगामी वर्ष अष्ट्रेलियामा हुने एएफसी एसिया कपमा छनोट हुँदा नेपाल छनोटबाटै बहैरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *