कास्की । गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । यससँगै स्याङ्जाले लगातार दोस्रो पटक उपाधि चुम्न सफल भएको हो ।
पोखरामा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा भएको प्रतियोगिताको शनिबार फाइनल खेलमा कास्कीलाई सात विकेटले हराउँदै स्याङ्जाले एक लाखसहित ट्रफी र मेडल पुरस्कार पायो । उपविजेता कास्कीले ५० हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।
आजको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कास्कीले निर्धारित २० ओभरको खेलमा १६ ओभरमा ‘अलआउट’ हुँदै ५६ रन बनाएको थियो । उपाधि जित्नका लागि ५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १० ओभरको तेस्रो बलमा लक्ष्य भेटायो ।
स्याङ्जाका लागि सिमाना केसीले १७ रनको ‘अविजित’ पारी खेलिन् । उनले २२ बलमा एक चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा ‘अविजित’ रहिन् । उनले १३ बलमा एक चौका प्रहार गरिन् ।
ओपनर श्रेया शाह पाँच, सलिना सेन छ, ज्योत्सनिका मरासिनी छ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान एक/एक विकेट लिए ।
कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा दुई चौका र एक छक्का हानिन् । रचनाले २५ बलमा दुई चौका प्रहार गरिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले तीन ओभरमा छ रन खर्चेर सर्वाधिक चार विकेट लिइन् ।
सिमाना केसीले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिइन् ।स्याङ्जाकी सिमाना केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको ‘वुमन अफदी म्याच’सँगै उत्कृष्ट बलरसमेत घोषित भइन् ।
कास्कीका सिर्जना पौडेल उत्कृष्ट ‘ब्याटर’ र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । यही असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वत जिल्लाको सहभागिता थियो ।