-डा. अरुणा उप्रेती ।
उपभोक्ता अदालतबाट पछिल्लो समय अस्पताल र चिकित्सकहरुमाथि क्षतिपूर्ति तिराउने फैसला ? केही वर्षअघि साँखुकी एक ४५ वर्षीया महिलालाई पानी तताउँदा आगोले पोलेको थियो । झन्डै ४० प्रतिशत पोलेको देखेर अस्पतालहरुले भर्ना गर्न मानेनन्। आइसियुमा ‘पोलेको बिरामी राख्ने ठाउँ छैन’ भन्दै पन्छिए । ती महिला मध्यान्ह १२ बजे पोलिएकी थिइन् । बल्लतल्ल एक निजी अस्पतालमा राति ८ बजे भर्ना गरियो । केही डाक्टर साथीहरूलाई भनसुन गरेर । त्यहाँ पनि बिरामीलाई तलमाथि भए हर्जाना माग्ने छैन भनेर विश्वास दिलाउनुपर्यो । ती महिला झन्डै एक महिना अस्पतालमै बसिन् । धेरै पैसा खर्च भयो। तै ज्यान जोगिएकोमा सबै खुसी भए । यो घटनाले मलाई धेरै समय झक्झकाइरह्यो । गम्भीर प्रकृतिका बिरामी भर्ना लिन अस्पतालहरू किन यसरी गाह्रो मान्छन् ?
कारण प्रस्ट छ, उपचार क्रममा मृत्यु भए परिवारका सदस्य मात्र होइन, बाहिरका मान्छेसमेत झगडा गर्न आउँछन् । गुन्डा प्रयोग गरेर अस्पताल व्यवस्थापन र डाक्टर तर्साउने गरेको पाइन्छ । डाक्टरले बिरामी उपचारमा बद्नियत राख्लान् भनेर नेताहरूले कसरी सोचे होलान् ? नसोचेका भए बद्नियत राख्ने डाक्टरलाई प्रावधानसहित तर्साउने कानुन ल्याउन तम्सने थिएनन् ।
डाक्टर र नर्सको काम सकेसम्म बिरामी निको पारेर पठाउनु हो । आफूले दिएको औषधि खाएर बिरामीको मृत्यु होस् भन्ने भावना कुनै स्वास्थ्यकर्मीको हुँदैन । उपकरण र औषधि अभावमा पनि सुत्केरी आमाको ज्यान बचाउन डाक्टरहरू तत्पर भएको हामी धेरैचोटी सुन्छौं । रगतको कमी भएर मर्न लागेका सुत्केरीलाई बझाङ, बाजुरामा डाक्टरले आफ्नै रगत दिएर बचाएका उदाहरण छन् ।
डाक्टर भगवान होइनन् । कहिलेकाहीँ सम्पूर्ण शक्ति लगाउँदा पनि मुटु बिग्रेका बिरामी बचाउन सकिन्न । सुत्केरी आमाको लगातार रगत बगिरह्यो भने जोगाउन सकिँदैन। निमोनियाग्रस्त कुपोषित बालक अन्तिम अवस्थामा अस्पताल आउँदा ज्यान जोगाउन नसकिएको उदाहरण छ ।
असुरक्षित गर्भपतन गराएकी किशोरी अस्पताल आउँदा रगतमा विष फैलिइसकेको हुन्छ। डाक्टरले दिने औषधिले ज्यान जोगिँदैन । सडकबाट सय मिटर तल गाडी खसेर क्षतविक्षत घाइते यात्रु जोगाउन डाक्टरहरूलाई हम्मे पर्छ । तै ल्याकत र अनुभव प्रयोग गरेर बिरामीको ज्यान जोगाउन कस्सिएकै हुन्छन् । त्यस्तो बेला बिरामीको मृत्यु भए बद्नियत भन्दै डाक्टरलाई कत्तिको जायज हुन्छ ?
मानसिक बिरामी औषधि खान बिर्सन्छ । डिप्रेसन भएर आत्महत्या गर्छ । अब मनोचिकित्सकलाई बद्नियत राखेको भन्दै पैसा भराउने वा सजाय दिनु ? कालिकोट अस्पतालमा प्रसव पीडाले बेहोस युवतीको बच्चा निकाल्न तुरुन्तै शल्यक्रिया गर्नुपर्छ। यसमा शल्यचिकित्सक, बेहोस पार्ने डाक्टर, औषधि र उपकरणहरू चाहिन्छ। डाक्टरले समस्या पहिचान गरे पनि उपकरण र औषधि अभावमा शल्यक्रिया गर्न सकिन्न । उसले अन्यत्र ‘रेफर’ गरेर पठाउँछ। जाँदाजाँदै बाटोमा मृत्यु भए डाक्टरलाई ‘बदनियत राखेर रेफर गरेको’ भन्दै सजाय दिनु मिल्ने कानुन कुन देशमा होला ?
यस्तो प्रावधानले अब कोही पनि डाक्टर मुटुको व्यथाले छट्पटाएका बिरामी छुनै तयार हुँदैन । रगतको आहालमा डुबेर बच्चाको सालनालसहित आएकी सुत्केरी उपचार गर्न कोही अघि सर्ने छैन । नाजुक बिरामीको मृत्यु हुँदा ‘बदनियत राख्यो’ भन्दै तोडफोड गर्ने, डाक्टरविरुद्ध प्रहरी गुहार्ने अवस्था आए देशको स्वास्थ्य स्थिति के होला ? यस्तो बोझिल अवस्थामा कुन डाक्टरले सहज उपचार गर्न सक्लान् ?
यस्तो कानुनले डाक्टर र बिरामीबीच अविश्वासको खाडल सिर्जना गर्नेछ। ‘बदनियत’ शब्दलाई डाक्टरी उपचारसँग जोडिन दिनु हुँदैन । हाम्रा नेताहरु हम्मेसी स्वदेशमा उपचार गराउँदैनन् । सानोतिनो रोग लाग्दा पनि उडेर विदेश जान्छन्। उनीहरूले ल्याउने कानुनको भुक्तमान हुने जनता हो । यसले बिरामीको उपचार गर्न कस्सिने आँटिला डाक्टरको हात बाँधिनेछ । केही भइहाले बदनियत राखेको दोष खेप्नुपर्ला भनेर पहिल्यै सतर्क हुन्छन् । यो स्वास्थ्य सेवाको निम्ति सकारात्मक अवस्था हो ?
खानेकुरामा विष राख्ने व्यापारीलाई सरकार माया गर्छ, मान्छे कुल्चेर मार्ने गाडीचालकप्रति सरकारको सद्भाव छ, बिरामीको जीवन बचाउन तत्पर डाक्टरप्रति भने बद्नियत किन ?