काठमाडौं । असार १६ गतेदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । झण्डै १० महिनापछि बसेको बैठकमा १३ बुँदे एजेण्डामाथि छलफल गर्ने प्रस्ताव गरिएको छ । जसमा १०० दिने अभियानका प्रतिवेदनहरु, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत अनुशासन समितिको प्रतिवेदन, कृयाशिल सदस्यता नविकरण प्रगति विवरण, केही भातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा, संसद र सरकारमा पार्टीको भुमिका प्रभावकारितालगायत विषय छलफलका लागि प्रस्ताव गरिएको छ । देशकै ठूलो र पुरानो पार्टीको केन्द्रीय समितिबाट निराशा रहेका आमसर्वसाधारणले नयाँ केही आउने अपेक्षा पनि गरेका हुन्छन् । तर अपेक्षा र एजेण्डा भन्दा पनि बैठकमा आरोप प्रत्यारोप र गुनासा बढी सुनिएका छन् । पाँच दिनसम्मको बैठकमा यस्तै देखिएको छ । पाँच दिनसम्म आइपुग्दा अधिकांश केन्द्रीय सदस्यले एक अर्कामाथि आरोपप्रत्यारोप लगाउने क्रम बढी देखिएको छ ।
बैठकको पहिलो दिननै कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवामाथि प्रश्न वर्षाए । उनले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दिनुको कारणदेखि सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो भन्दै देउवालाई प्रश्न गरे । त्यस्तै उनले विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? भन्दै प्रश्न गरे । त्यति मात्र नभई उनले निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरिएको भन्दै आपत्तिसमेत जनाए ।
कोइरालाले आफ्नो योग्यतामाथि प्रश्न उठाएपछि अर्का केन्द्रीय सदस्य विनोद चौधरीले प्रतिवाद गरे । चौधरीले कांग्रेसको नेतृत्व गर्छु भन्ने व्यक्तिले विश्वले चिनेको निजी क्षेत्रको अगुवा व्यक्तिलाई पार्टीमा रोकेर अन्तर्घातीलाई बोकेको आरोप लगाए । चौधरीले भने, ‘गुटको राजनीतिका नाममा हामीजस्ता मान्छेलाई छेक्ने, हृदयेश त्रिपाठीको लागि बुथबुथमा मान्छे राखेर कांग्रेसका शीर्ष नेतालाई तथानामा गाली गरेर हराउन हरप्रकारको तिकडम गर्ने लुम्बिनीका महामन्त्री विक्रम खनाल जस्तालाई बोक्ने नेताले भोलिको कांग्रेसको नेतृत्व कसरी गर्छ ?’
बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गर्नुमा महामन्त्री गगन थापाको हात रहेको आरोप लगाए । बस्नेतले महामन्त्री थापा आफूलाई मात्र नभई बालकृष्ण खाँणलाई पनि समानुपर्छ भनेर अख्तियारमा लागेको आरोप लगाए । उनले भने, ‘महामन्त्री गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेरै लाग्नुभयो । तपाईंकै कारणले मेराविरुद्ध अख्तियारले छानबिन गर्यो । मलाई मात्रै होइन सबैलाई समाउनुहोस् । महामन्त्रीजीका बारेमा मसँग ठूलो फाइल छ, अहिले म धेरै भन्न चाहन्न ।’
बस्नेतले यस्तो आरोप लगाएपछि महामन्त्री थापाले आरोपको खण्डन गरे । बस्नेतले आफूमाथि अराजनीतिक र अमर्यादित आरोप लगाएको भन्दै महामन्त्री थापाले आपत्ति जनाए । उनले भने, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ । बाले भन्नुहुन्थ्यो– कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ । आमाले भन्नुहुन्थ्यो– फोहोर नचलाउनु, फोहोर चलाए आफैं फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु ।’
नेताहरु एकअर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय सदस्य रामहरि खतिवडाले चाहिँ पार्टी नेतृत्वप्रति आरोपप्रत्यारोप गरेर पार्टीलाई क्षति पुग्ने बताए । उनले प्रश्न गरे, ‘सभापति, उपसभापति, महामन्त्री, केन्द्रीय सदस्यलाई खुइल्याउने कार्य गरिएको छ। यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्ने ? चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस्। चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस् । पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने को बलियो हुन्छ ?’
केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले चाहिँ सभापति देउवासँग देशले धेरै अपेक्षा गरेको बताए ।
बैठकमा खेलकुदमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य तेजुलाल चौधरीले चाहिँ मन्त्री भएर विदेश घुम्न नपाएको गुनासो गरे । उनले विभिन्न ठाउँको कार्यकारी प्रमुख माओवादी केन्द्रनिकटका व्यक्ति हुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो गरे । उनले भने, ‘पार्टीभित्र युवाको परिचालन चाहिनेजति गर्न सकिएको छैन। सरकारसँग खेलाडी, युवा लक्षित कार्यक्रम छन्। विदेश घुम्ने कार्यक्रम छन् । तर सबै ठाउँमा भागबन्डा हुने खेलकुदमा किन भागबन्डा भएन?’
यी त केही नेताका अभिव्यक्ति मात्र हुन् । तर अधिकांशका अभिव्यक्ति यो भन्दा फरक छैनन् । कसैले एमालेसँगको गठबन्धन तोड्नुपर्ने, पार्टीकै नेतालाई ठिक ठाउँमा ल्याउनुपर्ने मात्रै विषय उठाएका छन् ।
तर राष्ट्रिय राजनीतिका विषय भने अधिकांश नेताले उठाएका छैनन् । संविधान, व्यवस्थामाथि नै प्रश्न उठेको छ, चरम आर्थिक मन्दी, कालोबजारी र महंगीसँगै समाजमा व्याप्त भ्रष्टाचार, कुशासनको चपेटामा पिल्सिँदै गरेका जनता र निराशाको भारी बोक्न बाध्य बेरोजगारीको समस्याले पीडित युवाहरुको समस्या र समाधानका बारेमा खासै चर्चा भएको पाएको छैन । कांग्रेस अहिले केन्द्र सरकारमा त छँदैछ नै, तीन सय भन्दाबढी पालिका र ६ हजार भन्दाबढी वडामा नेतृत्व गरिरहेको छ । तर पनि कांग्रेसका नेता कार्यकर्ता नै सरकारसँग सन्तुष्ट छैनन् । जुन कुरा उनीहरुका सार्वजनिक कार्यक्रममा व्यक्त भएका कुराबाट पनि स्पष्ट हुन्छ । असन्तुष्टि मात्र जनाउने होइन नि कांग्रेस त जवाफ दिनुपर्ने ठाउँमा पनि त छ । त्यसैले केन्द्रीय समिति बैठक आफूआफूबीच आरोपप्रत्यारोपमा केन्द्रित हुनुपर्ने हो र ? मुलुककै ठूलो पार्टीको केन्द्रीय समितिले त राजनीतिलाई सही दिशामा लैजाने मार्गचित्र पो ल्याउनुपर्ने हो । यस्तो बहसले आउला त त्यस्तो मार्गचित्र ?