महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । एएफसी महिला एसिया कप छनोट अन्तर्गत आज हुने समूह ‘एफ’को निर्णायक खेलमा नेपाल र घरेलु टोली उज्वेस्कितान भिड्दैछन् । तास्केन्तस्थित बुन्योदकोर रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे शुरु हुनेछ ।

समूह ‘एफ’ मा रहेका दुवै टोलीको लागि आजको खेल ‘गर या मार’को स्थितिमा रहेको छ । दुवै टोलीले यसअघिको दुई खेलमा जित निकाल्दै समान ६/६ अंक जोडेका छन् । नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९-० र दोस्रो खेलमा श्रीलंकालाई ८-० गोलले पराजित गरेको थियो ।

यस्तै उज्वेकिस्तानलेपनि पहिलो खेलमा श्रीलंकामाथि १०-० र दोस्रो खेलमा लाओसमाथि ७-० गोलको फराकिलो जित निकालेको थियो । दुवै टोलीले श्रीलंका र लाओसविरुद्ध गोल नखाइ समान १७ गोल गरेका थिए । त्यसैले आजको खेलमा विजयी हुने टोली एसिया कपमा छनोट हुनेछ ।

यदि आजको खेलमा निर्धारित समयमा विजेताको टुंगो नलागेको खण्डमा खेल सिधैं पेनाल्टी सुटआउटमा जानेछ ।

नेपालले एसियन कप तीन पटक खेलिसकेको छ । तर त्यति बेला छनोट खेल्ने प्रणाली थिएन । यसपटक छनोट पार गरेमा नेपाली महिला फूटबल टोलीको अहिलेसम्मकै ठूलो सफलता बन्ने निश्चित छ । एसियन कपमा छनोट हुन सकेका नेपालको ओलिम्पिक छनोट र विश्वकप छनोटसम्मको ढोकापनि खुल्नेछ ।

फिफा वरीयतामा नेपाल भन्दा ४९ औँ स्थान माथि रहेको उज्वेकिस्तानलाई घरेलु मैदानको फाइदा रहेको छ । तर नेपाली टोलीपनि उच्च लयमा रहेको छ । नेपालकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ दुवै खेलमा ह्याट्रिक गर्दै उच्च लयमा रहेकी छिन् ।

नेपालले हालसम्म उज्वेकिस्तानलाई हराउन सकेको छैन । त्यसैले नेपाल एतिहासिक जितको खोजीमा हुनेछ । दुई टोलीबीच पछिल्लोपटक सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले दुवै खेल गुमाएको थियो । समूह चरणको खेलमा २-० गोलको हार बेहोर्दा फाइनलमापनि ३-२ गोलले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *