सत्ता पक्षले सोचे जस्तो मुलुकको अवस्था छैनः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार, संसद र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताएका छन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै प्रचण्डले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘सरकार कसरी चलेको छ, संसद र न्यायालयको अवस्था के छ–यो सबै गम्भीर समीक्षा आवश्यक छ ।’

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौताको भावनाअनुरूप देश अघि नबढेको बताए । कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै प्रचण्डले अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।

आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गर्दै प्रचण्डले अहिले जे भैरहेको छ, त्यसबाट जनता सन्तुष्ट नरहेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डसहित राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका नेता, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले कोइरालाको योगदानको स्मरण गर्दै लोकतन्त्र, मानव अधिकार र शान्ति स्थापनामा उनको अग्रणी भूमिकाको चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *