उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सक संघद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । संघको शुक्रबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघले स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने, मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय गरेको छ । उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा छन् ।

उपभोक्ता अदालतले चाबहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउन आदेश दिएको थियो । बुवाको उपचारमा लापरबाही भएको भन्दै बुढानीलकण्ठ ९ का बसन्त गौतमले अस्पतालविरुद्ध मुद्दा दायर गरेका थिए । गौतमले ९८ वर्षका बुवा हरिप्रसाद गौतमको उपचारका क्रममा अस्पतालले लापरबाही गरेर मृत्यु भएको भन्दै गरेको उजुरी गरेका थिए ।

उजुरीमा गौतमले कुनै स्वास्थ्य परीक्षण नै नगरी दुखाइ कम हुने इन्जेक्सन दिएको र जसका कारण बुवाको मृत्यु भएको उल्लेख गरेका थिए । उक्त उजुरीका आधारमा अदालतले ८० प्रतिशत अस्पताल र २० प्रतिशत उपचारमा संलग्न चिकित्सकले तिर्नुपर्ने गरी क्षतिपूर्तिको फैसला गरेको थियो ।

त्यस्तै हिमाल अस्पताललाई पनि १ करोड ४५ लाख क्षतिपूर्ति भराउन उपभोक्ता अदालतले आदेश दिएको थियो । उपचारमा लापरबाही गरी बालिकाको मृत्यु भएको ठहर गर्दै अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सक डा. जगदेव यादवलाई १ करोड ४५ लाख ४४ हजार एक सय रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

यसमा ७० प्रतिशत अस्पताल र ३० प्रतिशत चिकित्सकले क्षति बेहोर्नुपर्ने अदालतले जनाएको छ । गंगा गौतमले २८ महिनाकी छोरीलाई रुघाखोकी र ज्वरो आएपछि हिमाल अस्पतालमा ल्याएकी थिइन् । डा. यादवले परीक्षण नै नगरी रुघाखोकीको उपचार गरेका थिए ।

पहिलो पटक अस्पताल लैजाँदा निको नभएपछि पटक–पटक अस्पताल लगेको र पछि जाँच गर्दा जटिल प्रकारको निमोनिया भइसकेको पाइएको थियो । निमोनिया भइसकेको बालिकालाई अस्पतालले आईसीयू नभएको भन्दै अन्यन्त्र लैजान रिफर गरेको र अन्त लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । उजुरीका आधारमा छानबिन गर्दा अस्पताल र चिकित्सकको लापरबाही भेटिएको भन्दै दण्डित गरिएको हो ।

त्यस्तै, ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकको लापरबाहीले बिरामीलाई सास्ती पुगेको भन्दै ग्राण्डी सिटी अस्पताललाई पनि जरिवाना भर्न अदालतले आदेश गरेको छ । सेवाग्राही वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै गत चैत्रमा उपभोक्ता अस्पतालमा उजुरी दिएकी थिइन् ।

खुट्टाको तिघ्राको पछाडि भागमा समस्या हुँदा वर्षा उपचारका लागि ग्राण्डी सिटी अस्पताल पुगेकी थिइन् । चिकित्सकले खुट्टामा रहेको बोसो निकाली प्लाष्टिक सर्जरी गराएका थिए । एक पटक गर्नुपर्ने अप्रेसन दुई पटक गरेको र त्यसमा पनि संक्रमण भएर थप पीडा भोग्नुपरेको भन्दै उनले उजुरी दिइन् ।तीन करोड १७ लाख रुपैयाँ क्षतीपूर्ति दाबी गर्दै वर्षाले उपभोक्ता अदालतमा उजुरी दिएकी हुन् ।

उनको उजुरीका आधारमा छानबिन गर्दा अदालतले ७० प्रतिशत अस्पताल र ३० प्रतिशत उपचारमा संलग्न चिकित्सक सञ्जीव त्रिपाठीले तिर्नेगरी ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । यसरी अस्पताल र चिकित्सकलाई जरिवानाको फैसला हुन थालेपछि चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *