अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड चिसो

सान्टियागो । ध्रुवीय हावाले अर्जेन्टिना, चिली र उरुग्वेमा रेकर्ड कम तापक्रम ल्याएको छ । अत्यधिक चिसोले कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सरकारहरूलाई ग्यास आपूर्ति प्रतिबन्धित गर्न र आपत्कालीन आश्रयहरू सक्रिय गर्न बाध्य पारेको छ ।

ध्रुवीय हावा अन्टार्कटिकाबाट उत्पन्न भएर यस क्षेत्रभरि फैलिएका कारण तीनवटै यी दक्षिण अमेरिकी देशले शून्यभन्दा तलको तापक्रम तीव्र रूपमा रेकर्ड गरेका छन् ।

गैरसरकारी संस्था प्रोजेक्टो ७ का अनुसार अर्जेन्टिनामा यस जाडोमा चिसोका कारण कम्तीमा नौ जना घरबारविहीन व्यक्तिको मृत्यु भएको छ ।

राजधानी ब्युनस आयर्समा बुधबार सन् १९९१ यताकै सबैभन्दा न्यून तापक्रम माइनस १.९ डिग्री सेल्सियस (२८.६ फारेनहाइट) रेकर्ड गरियो भने तटीय सहर मिरामारमा ३४ वर्षमा पहिलो पटक हिउँ परेको देखियो । थप दक्षिणमा माक्विन्चाओ सहरले मङ्गलबार माइनस १८ डिग्री सेल्सियस रेकर्ड गर्‍यो ।

बिजुलीको मागले ब्युनस आयर्समा कटौती निम्त्यायो । केही क्षेत्र २४ घण्टाभन्दा बढी समयसम्म विद्युत्विहीन भए ।

सरकारले घरेलु आपूर्ति सुनिश्चित गर्न बुधबार उद्योग र पेट्रोल स्टेसनहरूमा ग्यास आपूर्ति स्थगित गरेको छ र ग्यास सिलिन्डरहरूमा मूल्य नियन्त्रण हटाएको छ ।

– मरुभूमि हिउँ –

उरुग्वेले छ जनाको मृत्युपछि राष्ट्रव्यापी ‘रेड अलर्ट’ घोषणा गरेको छ । यसले राष्ट्रपति यामान्डु ओर्सीको सरकारलाई घरबारविहीन मानिसहरूलाई जबरजस्ती आश्रयहरूमा सार्न अनुमति दिएको छ ।

मौसमविद् मारियो बिडेगेनका अनुसार मोन्टेभिडियोले सन् १९६७ पछि सबैभन्दा कम तापक्रम जुन ३० मा ५.८ डिग्री सेल्सियस रेकर्ड गरेको छ ।

चिलीले पनि सबैभन्दा चिसो दिनमा घरबारविहीन आश्रय योजनाहरू सक्रिय गरेको छ । चिलीको मौसम विज्ञान निर्देशनालयका अनुसार सान्टियागोबाट चार सय किलोमिटर (दुई सय ५० माइल) दक्षिणमा रहेको चिलान सहरले माइनस ९.३ डिग्री सेल्सियस छोयो ।

“यस हप्ता चिली र सामान्य रूपमा दक्षिणी कोनमा जे भयो त्यो अन्टार्कटिकाबाट ध्रुवीय हावाको द्रव्यमानबाट भागेको चिसो लहर हो”, सान्टियागो विश्वविद्यालयका जलवायुविद् राउल कोर्डेरोले भन्नुभयो ।

एक दशकमा पहिलोपटक विश्वको सबैभन्दा सुक्खा अटाकामा मरुभूमिको केही भागमा पनि हिउँ परेको छ ।

“यी चिसो हावाका समूहहरू उत्तरसम्म विस्तार हुनु त्यति सामान्य छैन, त्यसैले हामी यो पनि जलवायु परिवर्तनको कारणले भएको हो भन्ने कुरालाई अस्वीकार गर्न सक्दैनौँ”, मौसमविद् अर्नाल्डो जुनिगाले भन्नुभयो ।

यस क्षेत्रले आगामी दिनहरूमा राहतको अपेक्षा गरेको छ । ब्युनस आयर्समा बिहीबार १२ डिग्री सेल्सियस, मोन्टेभिडियोमा १४ डिग्री सेल्सियस र सान्टियागोमा २४.७ डिग्री सेल्सियस पुगेको छ ।

“चिसोबाट तातोमा भएको परिवर्तन देखेर म निकै आश्चर्यचकित भएँ–यो परिवर्तन निकै तीव्र थियो”, सान्टियागोमा १८ वर्षीया छात्रा डाफ्ने नारान्जोले भनिन् ।

जलवायुविद् कोर्डेरोले हालका वर्षहरूमा चिसो मौसमभन्दा तातो लहरहरू बढी बारम्बार भएको बताएका छन् ।

“गर्मी लहरहरूको आवृत्ति तीन गुणा बढेको छ, चाहे गर्मी होस् वा जाडो, दक्षिणी कोनमा मात्र नभएर संसारभर”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *