बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा ५० लाख दाखिला भएको छ ।
कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ ।
‘दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्याउने लक्ष्य छ । कोषमा एक अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पुर्याउन सकिन्छ । कोषमा पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममार्फत रकम थप्दै जाने नीति लिएको छ’, नगर प्रमुख नरबहादुर पुनले भने ।
क्यान्सर, मुटु, मृगौलालगायत जटिल रोगको उपचारमा धेरै खर्च लाग्ने भएकाले कोषमा एक अर्ब पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।