सर्बियामा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप

बेलग्रेड । युरोपेली सङ्घ (इयू)ले सर्बियामा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेपपछि भएको झडपप्रति चासो व्यक्त गरेको छ ।

इयूले झडपलाई ‘घृणा र हिंसात्मक कार्य’ भन्दै यसको कडा शब्दमा निन्दा गरेको छ । इयूले प्रहरी र प्रदर्शनकारीबीच भएको झडपपछि दुबैपक्षलाई शान्त र संवेदनशिल बन्न आह्वान गरेको छ ।

शनिबार एक लाख ४० हजार मानिस सहभागी भएको सरकारविरोधी र्यालीपछि हजारौँ प्रदर्शनकारीले बेलग्रेड र सर्बियाका अन्य सहरमा प्रहरी बर्बरता र सामूहिक गिरफ्तारीको निन्दा गर्दै रातभर सडक अवरुद्ध पारेका छन् ।

प्रदर्शनपछि दङ्गा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरी प्रदर्शनकारीको भीडलाई तितरबितर पारेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि प्रज्वलनशील इन्धन राखी बालिएका बोतलले आक्रमण गरेका थिए ।

यसैबीच, राष्ट्रपति अलेक्जेन्डर भुसिकले हिंसामा संलग्न प्रदर्शनकारीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइने बताए ।

बुधबार राति दङ्गा प्रहरीले राजधानीका विभिन्न सहरमा सडक अवरोध हटाएर करिब ८० जनालाई हिरासतमा लिएको थियो ।

सर्बियाको भ्रमणमा रहेको इयूको प्रतिनिधिमण्डलले एक्समा पोस्ट गर्दै भनेको छ,’हामी घृणा र हिंसाका सबै कार्यहरूको कडा शब्दमा निन्दा गर्दछौं।’

शान्तिपूर्ण प्रदर्शन, भेला हुने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कायम राख्नुपर्छ ।’
विज्ञप्तिमा भनिएको छ, “प्रहरीको कारबाही सन्तुलित हुनुपर्छ र मौलिक अधिकारको सम्मान गर्नुपर्छ ।’

सामाजिक सञ्जालमा भिडियोहरूमा विश्वविद्यालय भवनअगाडि प्रहरी र विद्यार्थीहरूबीच झडप भएको देखाइएको छ भने सर्बियाली प्रहरीले अत्यधिक बल प्रयोगको आरोप अस्वीकार गरेको छ ।

इयूले क्रूरताको आरोपको ‘छिटो, पारदर्शी र विश्वसनीय’ अनुसन्धान गर्न र गिरफ्तार प्रदर्शनकारीहरूको लागि ‘उचित प्रक्रिया’ को ग्यारेन्टीको लागि आह्वान गरेको छ ।

गत नोभेम्बरमा नोभी साडमा रेल स्टेसनको छत ढलेपछि भएको १६ जनाको मृत्युको घटनापछि शनिबारको प्रदर्शनले नागरिकको देशव्यापीरूपमा ध्यान आकृष्ट गरेको छ ।

विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शन भएपनि विरोध आन्दोलनले सर्बियाली समाजभरिबाट व्यापक समर्थन प्राप्त गरेको छ ।

विद्यार्थी आन्दोलनलाई समर्थन गर्ने एक विज्ञ समूहले अप्रिलमा गरेको सर्वेक्षणमा ५९ प्रतिशत नागरिकले आन्दोलनलाई समर्थन गरेको देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *