शंकर पोखरेलको ‘भ्रम र बास्तविकता’लाई कर्ण थापाको काउण्टर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेसँगै एमालेमा विधान संशोधन र उमेर हदको विषयलाई लिएर नेताहरुबीच बहस सुरु भएको छ । विधान महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा छलछाम भनेर प्रचार गर्ने प्रयास भइरहेको भन्दै महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । सामाजिक संजालमार्फत महासचिव पोखरेलले भ्रम र वास्तविकता भन्दै यसबारे स्पष्ट पार्न खोजेका छन् । उनले ७० वर्षे उमेरहदको विषय भने पार्टी प्रवेशलाई व्यवस्थापन गर्ने सन्दर्भमा सचिवालयको निर्णय प्रस्तावमार्फत केन्द्रीय कमिटीवाट हटाइएको दाबी गरेका छन् ।

महासचिव पोखरेलले लेखेका छन्, ‘विधान महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा छलछाम भनेर प्रचार गर्ने प्रयास भइरहेको छ । जवकी राष्ट्रिय महाधिवेशन अघि वसेको केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनवाट पारित विधानमा संशोधन गर्ने प्रस्ताव राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको थियो । उक्त निर्णय प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गरिएको थियो । त्यसमा केन्द्रीय कमिटीको आकार बढाउने र दुई कार्यकालको व्यवस्था हटाउने कुरा प्रमुख प्रस्तावका रुपमा रहेको थियो । सोही संशोधित विधानको व्यवस्था अनुरुप डा. पुष्प कँडेल तेश्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । ७० वर्षे उमेरहदको विषय भने पार्टी प्रवेशलाई व्यवस्थापन गर्ने सन्दर्भमा सचिवालयको निर्णय प्रस्ताव मार्फत केन्द्रीय कमिटीवाट हटाइएको थियो ।’

महासचिव पोखरेलले यस्तो लेखेपछि अर्का नेता कर्णबहादुर थापाले एमालेको विधानबारे गरिएका तर्क/कुतर्कबारे तथ्यमा उभिएर बहस गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, नेकपा एमालेको विधानबारे गरिएका तर्क/कुतर्कबारे तथ्यमा उभिएर बहस गरौ । छापिएका तीन विधान यस्ता छन । विधान निर्माण र संसोधनको सर्वाेच्च निकाय विधान महाधिवेशन नै हो । विधान राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रस्तावबाट निर्देशित हुन्छ भन्नेमा त कहीँ विवाद नै छैन ।’

एमाले संस्थापन पक्ष उमेरहद र दुई कार्यकालको व्यवस्था विधानमा राख्न चाहँदैन भने ओलीलाई सकेसम्म उमेरहद र दुई कार्यकालको व्यवस्था लगाएर बिदा गरेर भण्डारी पक्ष रहेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवालीलगायतका नेताहरु उमेरहद र दुई कार्यकालको व्यवस्था लागू गर्नुपर्ने पक्षमा देखिएका छन् ।

आगामी भदौ २० बाट एमालेको विधान महाधिवेशन सुरु हुँदैछ । त्यसअघि उमेरहद र दुई कार्यकालको विषयलाई लिएर एमालेभित्रै ठूलै रस्साकसी हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *