बिपी र गिरिजाबाबुको त्यो सोच

-जेपी गुप्ता ।

धेरै कुराहरू सम्झिन गाह्रो भयो । खासगरी तिथी मितिहरू याद हुन्न, कुरो पनि पुरानो भयो । कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानुपर्छ । यसरी विचार गर्दा कुरो बिस २०४८ पछिको हो । नेपाली कांग्रेसको सरकारले पहिलो पटक हरेक गाउँ विकास समितिलाई. १५ हजार अनुदान दिएको थियो । जरूरतमन्द नागरिकहरूको वडामा सामुहिक रूपमा उपयोग गर्नेगरी १/२ वटा हाते चापाकल (ट्यूबेल) जडान गर्नका लागि । गाउँ पञ्चायतको रूपान्तरण ‘गाउँ विकास समिति’ को रूपमा भएको थियो । संभवतः केन्द्रबाट विषयगत अनुदानको रूपमा गएको यो पहिलो अनुदान थियो । सरकारको चाहना थियो कि यस रकमको कार्यान्वयन गाविसका तत्कालिन सचिव(सरकारी कर्मचारी) बाट होस् । तर, भर्खरै बन्दै गएको एमालेले सर्वदलीय समितिको कुरो उठायो । यसरी सर्वदलीय समिति बनेमा सबै गाविसहरूमा आफ्नो संगठनको विस्तार हुनसक्ने उसको धारणा रहेको हुनुपर्छ ।

बिस २०३८ साल तिर नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रमहरूमा सहभागी हुनका लागि बिपी कोइरालाको देश दौडाहा अन्तर्गत बिपीले कयौं ठाउँहरूमा विकास योजनाहरूका बारेमा बोल्नु भएको थियो । पहिलो प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा सिके प्रसाईको आयोजनमा भएको थियो । यसरी देश दौडाहाको क्रममा स–साना प्रवचन काक्र्रमहरूमा बिपीले अनेकौ ठाउँमा समाजवादी अर्थतन्त्रको गम्भीर परिकल्पनाहरू बारे बोल्नु हुन्थ्यो। शायद यी कुराहरू कतै पुस्तिकाको रूपमा प्रकाशित पनि छ, तर आजका पुस्ताले खोजिनीति गरी पढदैनन् ।

यसै क्रममा बिपीले भन्नु भएथ्यो, ‘दक्षिण एशिया खासगरी नेपालमा यहाँका मानिसहरूमा देखिने रोगहरूमा ८०% रोगहरू दुषित खानेपानीको उपयोगबाट हुने गर्दछ।’ उहाँले भारत बम्बईका एक प्रख्यात चिकित्सकको रायलाई उदृत गरेर त्यसो भन्नु हुन्थ्यो र जोड दिनु हुन्थ्यो कि यदि सरकारले आमजनतालाई शुद्ध खानेपानी मात्र उपलब्ध गराउन सक्यो भने नेपालका ८०% मानिसहरू विशेषतः दुषित खानेपानी खानाको कारणले हुने पेटको रोगबाट मुक्त हुन सक्छन् । गिरिजाप्रसाद कोइराला त्यसबेला साथै रहनुहुन्थ्यो । म समेत हामी कति जना पनि सँगै हुन्थ्यौं । कुरो सानो थियो, पञ्चायती शासनले अञ्चल अस्पताल र कतै कतै जिल्ला अस्पताल खडा गरेको थियो । विराटनगर र राजविराजमा अञ्चल अस्पताल थियो। अञ्चल भने उत्तरमा सोलु र ताप्लेजुङसम्म फैलिएको थियो । अञ्चल अस्पतालको लाभ भने बढीमा मोरङ र सप्तरीका मानिसहरूलाई पुग्ने स्थिति थियो ।

बिपीको मुखबाट मैले पहिलो पटक पाँच बेडको पिएचसी(प्राईमरी हेल्थ सेन्टर) को कुरा यस्तै मिटिङहरूमा सुनें । केही गाउँहरूमा स्वास्थ्य चौकीहरू खुल्न थालेको थियो । जहाँ अनमी स्तरका १/२ जना कर्मचारी हुन्थे । बिपीले एउटा जिल्लामा ५/७ गाँउहरू समेटेर १/१ पिएचसी बनाउनु पर्ने विचार राख्नु हुन्थ्यो । उहाँले यस्तो केन्द्रमा एमबीबीएस भन्दा तल अध्ययन गरेको स्वास्थ्य प्राविधिक रहने र यस्तो केन्द्रहरूमा कमसेकम साधारण औषधिहरू, रगत–खकार–दिसा, पिसाब जाँच्ने सुबिधा र घाउँखटिराको सानो सर्जरीको सुविधा हुनैपर्ने व्यवस्थामा जोड दिनुहुन्थ्यो । यस्तै खालका मानिसको आँखा नलाग्ने प्रकारका स–साना कुराहरू गर्नु हुन्थ्यो।

हामी चितवन पारगर्यौं । अहिलेको नारायणी नदीको पुलको ३/४ सय मिटर उत्तर पट्टी ठूल्ठूला डुंगामा मिनी बस र सानो चार पांग्रे मोटर जिपहरू पार गरिन्थ्यो । हाम्रो दौडाहाले जाँहीताही उम्लेका पञ्चहरूको विरोधको सामना गर्नुपथ्र्यो । बडो हल्ला थियो, बिपीले चढ्ने डुंगालाई जिप र साथीहरू समेत नारायणीमा डुबाउने योजना छ रे ! आज चितवनमा कृष्णलाल सापकोटा, टेकबहादुर गुरूङ, शायद एक जना धनाढ्य (सुभाष प्रधानको पिता जी), मुक्तिलाल चुके, मैयादेवी दिदी, एकनाथ भाट हालैका चर्चित जगन्नाथ पौडेल र अहिले सम्झना नरहेका धेरै धेरैले बिपीको सुरक्षा साथ नारायणी पार गराउने अभिभारा लिए । अहिलेको कांग्रेसले शायद यि मध्येका धेरैलाई कारवाही गरेर गैरकांग्रेसी बनाएका छन् ।

हामी राति नवलपुरमा सूर्यभक्त अधिकारीको घर (एउटा काठको सानो मचान जस्तो घर र बाँकी कटेरोहरू) मा बस्यौं । म र वीरेन्द्र दाहाल गिरिजाबाबुको कटेरोमा थियौं । अनिद्रामा रहनु भएका गिरिजाबाबुले मलाई अर्हाउनुभयो–जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नु भएका विभिन्न बिषयका कुराहरू, उहाँका विचारहरूलाई टिपोट गर । सान्दाजु, बिमार हुनुहुन्छ । शायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनु हुन्न । तर, प्रजातन्त्र त आउँछ नै । हामीले उहाँले देखाएका विचारहरूलाई अगाडि बढाउनुपर्छ । मैले एउटा खास काम पाएँ ।

मलाई बिपीले भनेको याद छ । उहाँले कार्यकर्ताहरू सँगको कुराकानीमा भन्नु भा’थ्यो, ‘म विराटनगरमा ५/१० बिघा खेती भएको, परेको खण्डमा उपचार खर्चको स्वयंले जोहो गर्नसक्ने मानिस हुँ । तर, म बम्बईमा क्यान्सरको उपचार गराउन जाँदा खर्च ब्यहोर्न सकिन । जेपी, जयप्रकाश नारायणले केही रकम दिएर, केही रामनाथ गोयन्का (इन्डियन एक्सप्रेस पत्रिकाका मालिक) को सहयोगबाट अस्पतालको बिल तिर्न सकें । आम नेपाली कसरी सक्छन् ? हामीले प्रिभेन्टिभ हेल्थ सिस्टममा जानुपर्छ । एक/दुई ठूला अस्पताल भए पुग्छ।’
कालान्तरमा गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो । उहाँको दिमाग एक प्रकारले पूर्व पोषित (प्रिअकुपाईड) थिएन। खाली थियो, देशको विकासका बारेमा, जनकल्याणका नीतिहरूका बारेमा केही मन परेका संझनाहरू थियो ।

जब गिरिजाबाबु प्रधानमन्त्री हुनु भयो र कसैले ध्यान नदिएको स–साना कुरालाई ज्यादै महत्व दिनु भयो । विश्व बैंकका प्रतिनिधिसँग भेट्दा देशभरमा गरी पहिलो चरणमा २० वटा ‘पिएचसी’ माग्नु भयो । बेलायतका राजदूतसँग ‘बेलीब्रिज’ माग्नु भयो । यो बेलिब्रिजले त्यसबेलाको ठूलो बिध्वंशकारी बाढीको बेला मुलुकको यातायातलाई सुचारू राख्न ठूलो मद्दत गरेको थियो । ठूला ठूला एयरलाइन्स भन्दापनि हेलिकोप्टर सेवा संचालन गर्न निजी क्षेत्रलाई पहिले अनुमति दिनु भयो । यसलाई उहाँले रेस्क्यूसँग जोड्नु भयो । कति सानो कुरा, आज कसैको आँखा नै लाग्ने, देशका हरेक गाविसलाई खानेपानीका निम्ति ट्यूबेल जडान गर्न १५ हजार अनुदान दिने व्यवस्था गर्नुभयो । उहाँले त्यस देश दौडाहाको क्रममा बिपीले बोल्नु भएको दुषित खानेपानीको कारणबाट देशमा ८०% मानिसलाई पेटको रोग लाग्छ, यो मसिनो जस्तो लाग्ने कुरालाई बिर्सन सक्नु भएन । पिएचसीलाई भुल्नु भएको थिएन। ठूला ठूला र बिपीले वैदेशिक लगानीका साथ, विदेशी महिलाहरूका लागि ‘सेरोगेसी’ सन्तान जन्माउने अनुमति दिई नेपाललाई ‘हेल्थ टुरिज्म’ को अर्थशास्त्र पढनु भएको थिएन–गिरिजाबाबुले !

तर, एउटा टिम पनि थियो। नेपालमा पर्यटन क्षेत्रको कायापलट गर्ने प्रधानमन्त्रीका तत्कालिन सल्लाहकार निरंजन कोइराला यस संसारमै रहनु भएन । पृथ्वीराज लिगल जस्ता संस्थामा रूपान्तरित व्यक्तिका साथ राष्ट्रिय योजना आयोगको नेतृत्व लिनु भएका डा. रामशरण महत अहिले गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ । चर्चित अर्थशास्त्री एवं तत्कालिन अर्थमन्त्री महेश आचार्य असमयमा कांग्रेसबाट पन्छाईनु भएको छ…यस्ता अनेकन् जो नयाँ विचार संस्थापनको टिममा थिए आज कांग्रेस मै रहन पाएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *