बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजाका लागि प्रस्तावित ६० दिनको युद्धविराम स्वीकार गरेको दाबी गरेका छन् ।
ट्रम्पले ट्रुथ सोसियलमा लेख्दै भने, ‘यो प्रस्ताव अन्तिम रूपमा कतार र इजिप्टले पुर्याउने छन्, जसले शान्तिका लागि निरन्तर मेहनत गरिरहेका छन्। आशा छ हमासले यो सम्झौता स्वीकार गर्छ, किनभने अब यसको विकल्प अझै खराब हुनेछ।’
तर युद्धविरामका सर्तहरू के–के छन् भन्नेबारे ट्रम्पले विवरण खुलाएका छैनन्। यसबारे हालसम्म हमासको प्रतिक्रिया आएको छैन। इजरायलले अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि गाजामा सैन्य कारबाही सुरु गरेको थियो, जसमा करिब १,२०० जनाको ज्यान गएको थियो। त्यसयता गाजामा ५६ हजार भन्दाबढीको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको दाबी छ।
ट्रम्पको टिप्पणी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग अर्को साता हुन लागेको भेटवार्ताअघि आएको हो। उनले उक्त बैठकमा ‘धेरै कडा’ ढंगले प्रस्तुत हुने बताएका छन्।
‘नेतन्याहूले युद्ध अन्त्य गर्न चाहन्छन्। मलाई विश्वास छ, हामी अर्को साता सम्झौतामा पुग्नेछौं,’ ट्रम्पले भने।
यसैबीच, इजरायलका रणनीतिक मामिला मन्त्री रोन डर्मर अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेश मन्त्री मार्को रुबियो र मध्यपूर्व विशेष दूत स्टीभ विटकोफसँग वासिङ्टनमा भेट गर्दैछन्।
पछिल्लो समय युद्धविराम र बन्धक मुक्तिका लागि मध्यस्थकर्ताहरूको प्रयास तीव्र बनेको भए पनि वार्ता रोकिएको हमास स्रोतहरूले बताएका छन्। इजरायलले हमास पूर्ण रूपमा ध्वस्त नभएसम्म युद्ध अन्त्य नहुने अडान दोहोर्याउँदै आएको छ।
हाल करिब ५० जना इजरायली बन्धक गाजामा रहेका छन्, जसमा २० जना जीवित रहेको अनुमान छ।
इजरायलले हालै गाजाको उत्तरी क्षेत्रमा नागरिकलाई स्थान खाली गर्न आदेश दिएको छ। सोमबार गाजा सिटीको एक समुद्री क्याफेमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २० जना मारिएको जनाइएको छ।
मार्च महिनामा भएको अघिल्लो युद्धविराम सम्झौता इजरायली हवाई आक्रमणपछि भङ्ग भएको थियो। सो सम्झौता तीन चरणमा लागू हुने भनिएको थियो, तर पहिलो चरणमै टुङ्गिएको थियो। दोस्रो चरणमा स्थायी युद्धविराम, बाँकी बन्धकको रिहाइ र गाजाबाट इजरायली फौज फिर्तीको प्रावधान थियो।